नेपाल प्रेस युनियन तनहुँको आठौं अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको । युनियनले आफ्नो मातहतमा स्थापित पुरस्कारहरुबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेत, गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अधिकारीले बताए ।
प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले बताए । पुरस्कारको राशी जनही १० हजार रहेको छ । आगामी जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौं औं अधिवेशनका अवसरमा प्रदान गरिनेछ । अधिवेशनको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने प्रेस युनियन तनहुँले जनाएको छ ।
