अर्थमन्त्री डा. प्रकाश शरण महतले संसद्मा अर्थतन्त्रको शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा एकैपटक सर्जरी गर्दा अफ्ठ्यारो हुने जवाफ दिएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा समस्या समाधान गर्न नसकिने बताएका हुन् ।
सांसद प्रस्तुत आगामी बजेटका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने बताएका थिए । वाग्लेलाई जवाफ दिँदै अर्थमन्त्री महतले धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्दा पनि समस्या आउने जवाफ दिएका हुन् ।
सांसदमा पनि अर्थतन्त्रको सर्जरी गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ,’ उनले भने, ‘शुरूआत गरौँ तर, समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ ।’
अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने बताएका छन् । वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताएका हुन् ।