राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सत्य,न्याय र पीडितको पक्षमा रहेको बताएका छन् । चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा आफुले अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनको भनाइ छ ।
‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु’, चितवन–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् । घटनामा राजनीतिको रंग नपोतियोस् भनेर आफु सचेत रहेको उल्लेख गर्दै लामिछानेले प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको बताएका छन् ।

‘म सत्य,न्याय र पिडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु’, उनको भनाइ छ, ‘ आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पूर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरिरहेको छु।’
केही दिनअघि कंणेलले आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।