पोखरा । वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुन सकेका छैन । सत्ता गठबन्धनमा सामेल कांग्रेस–माओवादीबीच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएका कारण सरकार गठन ढिलाइ भएको हो ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र मात्र नयाँ सरकार गठन गर्न आह्वान छन् । यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भएको छैन । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न आह्वान गरेपछि माओवादी–कांग्रेस नेतृत्व आ–आफ्नो सरकार बनाउन कसरत गरिरहेको छन् ।उपधारा दोहोरिए पनि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको भन्दै मंगलबार कांग्रेस नेताहरूले बताएका थिए । उनीहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि सोमबार पोखरा फर्किएको उल्लेख गरे । तर, कांग्रेसका नेताहरू डेलिगेसनमा पुगेर फर्केकै दिन मंगलबार माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान काठमाडौँ सोझिए । उनले बुधबार प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।बुधबार बिहान भएको छलफलमा अध्यक्ष प्रचण्डले गण्डकी सरकार कांग्रेसलाई दिने कुनै पनि निर्णय नभएको बताएको नेता चुमानको भनाई छ । प्रचण्डको भनाइ उद्धृत गर्दै नेता चुमानले भने, ‘अहिले कुन दलले सरकारको नेतृत्व गर्ने टुङ्गो लागेको छैन । तपाईंहरु हतार नगर्नुहोस् । बुधबार बेलुकासम्म कांग्रेस सभापतिज्यू र मेरो छलफल हुन्छ ।’ नेता चुमानले प्रचण्डसँग ‘के कति कारणले कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय गर्नुभएको ?’ भनेर प्रश्न गरेका थिए ।माओवादीले बुधबार दलको बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने निर्णय गरेको छ । सोही अनुसार चुमान आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न काठमाडौँ गएका हुन् । यता, प्रदेश प्रमुख गुरुङले एमाले नेतृत्वको सरकार गठन गर्न प्रयोग भएको धारा दोहोर्याएर सरकार गठन आह्वान गरेको भन्दै एमाले सांसदहरू भने असन्तुष्ट बनेका छन् । उनीहरूले प्रदेश प्रमुखले पुन उपधारा दोहोर्याउनु सान्दर्भिक र न्यायोचित नभएको तर्क दिँदै आएका छन् ।