एकाबिहानै बन्दीपुर बजारको एउटा पसलमा छिर्दा उनी मोबाइलमा टिकटक भिडिओ स्क्रोल गर्दै थिइन्।

हामीलाई देखेर थोरै लजाइन्।

उनले अप्ठ्यारो मानेको चाल पाएर हामीले सिधै तनहुँ क्षेत्र नम्बर १ को चुनावी हालचालबारे कुराकानी सुरू गर्‍यौं।

उनी हुन् बन्दीपुर गाउँपालिका–४ की ईश्वरी श्रेष्ठ। उनी अघिल्लो दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने र स्वर्णिम वाग्ले चुनावी प्रचारमा बन्दीपुर आएका छन् भन्ने सुनेर ताजा फूलको माला र खादा बोकेर होटलमै भेट्न गएकी थिइन्। तर, रवि आएका रहेनछन्। उनी थोरै निराश त भइन् तर स्वर्णिमलाई देखेर उत्साहित हुँदै माला र खादा पहिर्‍याइदिइन्। स्वर्णिमसँग फोटो पनि खिचाइन्।

घर फर्केर स्वर्णिमसँग खिचाएको फोटो दुबई बस्ने आफ्ना छोरालाई मेसेन्जरमा फरवार्ड गरिन्। उताबाट छोराले ‘लभ’ को इमोजी पठाए।

‘रविदाइलाई भनेर उनेको माला यसै सुक्यो,’ ४६ वर्षीया ईश्वरीले भनिन्, ‘उहाँ भोलि दमौली आउनुहुन्छ रे, म उहाँको निम्ति नयाँ माला उन्दैछु।’

ईश्वरीले गत मंसिर ४ को आमनिर्वाचनमा पनि रास्वपालाई घन्टी चिह्नमा मतदान गरेकी थिइन्। त्यति बेला रास्वपाका उम्मेदवार को थिए भन्ने उनलाई सम्झना छैन। यसपालि चाहिँ उनले उम्मेदवार मात्र चिनेकी छैनन्, यी उम्मेदवारलाई किन भोट हाल्ने भन्नेमा पनि उनको विचार छर्लंग छ।

‘२३ वर्षको मेरो छोरा दुबई गएको नौ महिना भयो। यो देशमा हामीजस्तालाई गरिखाने वातावरण भइदिएको भए ऊ किन विदेश जानुपर्थ्यो!’ ईश्वरीले भनिन्, ‘स्वर्णिम वाग्ले अर्थविद् हुनुहुन्छ। पिँधमा पुगेको देशको आर्थिक अवस्था उकास्न उहाँले केही न केही त उपाय लगाउनुहोला, ताकि म मेरो छोरालाई सधैं आफ्नै आँखाअगाडि देखिरहन पाऊँ।’

उता भानु नगरपालिकाका ६४ वर्षीय तालिमबहादुर गुरूङले अघिल्लो चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई भोट हालेका थिए। उनी पनि यसपालि घन्टी चिह्नमा वाग्लेलाई मतदान गर्दैछन्।

अघिल्लो चुनावमा चितवनबाट विजयी रवि लामिछानेलाई राजनीतिक दलहरूले काम गर्न नदिएको र नागरिकता प्रकरणमा फसाएको उनको आरोप छ। उनी भन्छन्, ‘अरू पार्टीहरूले साँठगाँठ गरेर रविलाई घाइते बनाए। त्यसैले यसपालि झन् बलियो बनाएर पठाउने हो।’

बन्दीपुर गाउँपालिका-५ की सुनीता श्रेष्ठले भने अघिल्लोचोटि नेकपा एमाले उम्मेदवार एकबहादुर राना मगरलाई भोट हालेका थिए। उनी अब घन्टी चिह्नमा भोट हाल्ने निधो गरेर बसेकी छन्।

‘मैले दल बदलेको होइन, मत बदलेको हो,’ ३६ वर्षीया सुनीताले भनिन्, ‘म रवि सरको कार्यक्रमको फ्यान हुँ। उहाँलाई टिभीमा देख्दा नै यस्तो मान्छे त पार्टी खोलेर राजनीतिमा आए हुन्थ्यो नि भनेर श्रीमानलाई भनिरहन्थेँ।’

उनले अगाडि भनिन्, ‘अघिल्लोचोटि पनि म घन्टीलाई नै भोट हाल्थेँ होला, तर त्यति बेला तनहुँ–१ मा घन्टीको उम्मेदवार छ भन्ने नै थाहा भएन। मत गणनापछि पो थाहा पाइयो। त्यति बेला घन्टीलाई भोट हाल्न नपाएको पछुतो यसपालि पूरा गर्दैछु।’

अघिल्लो चुनावमा अलग–अलग दलमा भोट हालेका ईश्वरी, तालिमबहादुर र सुनीताको भनाइले तनहुँ क्षेत्र नम्बर १ को अहिलेको चुनावी परिदृश्य झल्काउँछ।

हामीले पछिल्ला चार दिनमा तनहुँ-१ मा पर्ने व्यास र भानु नगरपालिकाका सबै वडा, बन्दीपुर गाउँपालिकाका सबै वडा र देवघाट र आँबुखैरेनी गाउँपालिकाका आधाभन्दा बढी वडामा भ्रमण गरेर ७५५ जना मतदातालाई भेटेका छौं।

यी मतदातासँगको कुराकानीबाट हामी के निष्कर्षमा पुगेका छौं भने यसपालि तनहुँ–१ को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले आफ्ना पुराना मतदाता जोगाउन सक्ने छैनन्। अघिल्लोचोटि कांग्रेसका रामचन्द्र पौडेललाई भोट हालेकामध्ये झन्डै ४० प्रतिशतले रास्वपाका स्वर्णिम वाग्लेलाई भोट हाल्ने बताए भने अघिल्लोचोटि एमालेका एकबहादुर राना मगरलाई भोट हालेकामध्ये झन्डै आधाले वाग्लेलाई भोट हाल्ने निधो गरेको सुनाए।

हामीले कुराकानी गरेका ७५५ जना मतदातामध्ये रास्वपाका स्वर्णिम वाग्लेलाई भोट दिन्छु भन्नेहरू ३६६ जना अर्थात् ४८.५ प्रतिशत छन्। त्यस्तै, कांग्रेसका गोविन्द भट्टराईलाई मत दिन्छु भन्नेहरू २१९ जना छन्। यो हामीले भेटेका मतदाताको २९ प्रतिशत हो।

तेस्रो स्थानमा देखिएका एमालेका सर्वेन्द्र खनाललाई हामीले भेटेकामध्ये ७७ जनाले मात्र भोट हाल्ने बताए। यो भनेको १०.२ प्रतिशत हो।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन लगायतलाई भोट हाल्छु भन्ने मतदाता हामीले नगन्य मात्र भेट्यौं।

हामीले कुराकानी गरेकामध्ये ९० जना अर्थात् ११.९ प्रतिशत मतदाता अहिलेसम्म कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छन्। यी अनिर्णित मतदाता कांग्रेस, एमाले र घन्टी गरी तीनैतिर बाँडिने छन्।

अब हामी मंसिरको आमनिर्वाचनसँग तुलना गर्दा तनहुँ–१ मा कसको मत कतातिर सर्दैछ भन्ने हेरौं।

मंसिरको आमनिर्वाचनमा यहाँ करिब ५ हजार मतले हार–जितको फैसला भएको थियो। पौडेल २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका मगरले झन्डै २० हजार मत ल्याएका थिए। यसपालि अग्रस्थानमा देखिएका रास्वपाका तत्कालीन उम्मेदवार विकास सिग्देलले जम्मा ६ हजार ४४ मत ल्याएका थिए। यो स्थितिमा रास्वपाका वाग्लेलाई विजय हात पार्न कांग्रेस र एमालेका पुराना मतदाता ठूलो संख्यामा घन्टीतिर तान्नुपर्ने हुन्छ। हाम्रो स्थलगत भ्रमण र मतदाताहरूसँगको कुराकानीले त्यही स्थिति देखाउँछ।

हामीले भेटेका ७५५ जना मतदातामध्ये ४४८ जनाले अघिल्लोचोटिको चुनावमा कांग्रेसका रामचन्द्र पौडेललाई भोट हालेको बताएका थिए भने एमालेका एकबहादुर राना मगरलाई भोट दिएको भन्नेहरू २१३ जना थिए।

यी मतदाताको भोट कहाँ–कहाँ छरिँदैछ भनेर विश्लेषण गर्दा हामीले के पायौं भने अघिल्लोचोटि पौडेल र मगरलाई भोट दिएको बताउने मतदाता संख्या धेरै भए पनि यसपालि उनीहरूकै पार्टीका उम्मेदवारलाई भोट हाल्छु भन्नेहरू कम छन्।

मंसिरमा पौडेललाई भोट दिएको बताउने ४४८ जनामध्ये १७७ जनाले यसपालि घन्टीलाई भोट दिने बताए भने अघिल्लोचोटि मगरलाई भोट दिएको बताउने २१३ जनामध्ये १०६ जनाले घन्टीलाई भोट दिने इच्छा देखाए। यसबाट हामीले कुराकानी गरेकामध्ये पहिले एमालेलाई मत दिएका आधा र कांग्रेसलाई मत दिएका ४० प्रतिशत मतदाता यसपालि स्वर्णिमतिर सर्ने देखिन्छ।

त्यस्तै, पौडेललाई भोट दिएको बताउने मतदातामध्ये २१२ जनाले यसपालि कांग्रेसलाई नै भोट हाल्ने भनेका छन् भने मगरका मतदातामध्ये ७५ जनाले एमालेलाई नै भोट दोहोर्‍याउने बताएका छन्। यसको अर्थ कांग्रेसले अघिल्लोपटक पाएको करिब ४८ प्रतिशत मत मात्र यसपालि फेरि पक्का गरेको छ। नेकपा एमालेका हकमा उनीहरूले पक्का गरेको पुराना मतदाता ३५ प्रतिशतभन्दा अलिकति मात्र बढी देखिन्छ।

यहाँ हामीले भेटेकामध्ये पुराना एमाले मतदाताको अनुपात केही कम छ। अघिल्लो चुनावमा कांग्रेस र एमाले उम्मेदवारबीच जति मतान्तर थियो, त्यस आधारमा पहिले एमालेलाई भोट हालेको बताउनेहरू अलि धेरै भेटिनुपर्थ्यो। त्यसो हुन नसक्दा एमालेले यसपालि पाउन सक्ने मत कम देखिएको हुन सक्छ। तर, त्यसले अन्तिम नतिजामा फरक पार्ने देखिँदैन। किनभने, हामीले एमालेलाई अघिल्लोपटक मत दिएका जति मतदाता भेट्यौं, त्यसको आधीले यसपटक घन्टीलाई भोट हाल्छु भनेका छन्।

कांग्रेस र एमालेका पुराना मतदाता ठूलो संख्यामा घन्टीतिर सर्दै गर्दा रास्वपाले भने आफ्ना पुराना मतदाता शतप्रतिशत जोगाएर राखेको पाइन्छ। हामीले भेटेकामध्ये ५१ जनाले अघिल्लोचोटि घन्टीलाई भोट हालेको बताएका थिए। तीमध्ये एक जना पनि कांग्रेस र एमालेतिर ढल्किएका छैनन्। उनीहरू सबैले यसपालि घन्टीलाई नै भोट हाल्ने बताए।

कांग्रेस र एमालेका मतदातामा अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा पुग्न नसकेकाहरू पनि धेरै छन्।

हामीले कुराकानी गरेकामध्ये पुराना कांग्रेस मतदाता ५८ जनाले यसपालि कसलाई भोट हाल्ने निधो नगरेको बताए। उनीहरू कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्लेमध्ये कसलाई भोट हाल्ने दोधारमा छन्।

यस्तै स्थिति पुराना एमाले मतदातामा पनि छ। हामीले भेटेकामध्ये पुराना एमाले मतदाता ३१ जनाले यसपालि कसलाई भोट हाल्ने टुंगो नगरेको बताए। उनीहरू पनि सूर्य वा घन्टीमध्ये एउटामा भोट हाल्ने बताउँछन्।

यसबाट के देखिन्छ भने अहिलेसम्म अनिर्णित अवस्थामा रहेका मतदाताको मत जम्मै रूख वा सूर्यमा जाने छैन। घन्टीले यहाँबाट पनि आफ्नो मत प्रतिशत बढाउने छ।

मंसिरको चुनावमा नेपाली कांग्रेसकै गोविन्दराज जोशीले कैंची चिह्न लिएर पौडेलविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ६ हजार ८ सय ८६ मत ल्याए। उनले यसपालि रास्वपालाई समर्थन गर्ने बताएका छन्। स्थलगत रूपमा हेर्दा हामीले पहिले जोशीलाई भोट हालेको बताउनेहरू ११ जना भेटेका थियौं, जसमध्ये ९ जनाले यसपालि घन्टीलाई भोट दिने बताए भने एक जनाले कांग्रेसलाई भोट हाल्छु भने। एक जना भने कांग्रेस र रास्वपाबीच कसलाई भोट हाल्ने भनेर अनिर्णित थिए।

हामीले स्थलगत भ्रमण गर्दा तनहुँ–१ को उपनिर्वाचनमा अर्को एउटा महत्वपूर्ण राजनीतिक परिदृश्य देखिएको छ। त्यो के भने, अघिल्लोचोटि गठबन्धनका कारण कांग्रेसका पौडेललाई भोट हालेका माओवादी मतदाताहरू धेरैले यसपालि वाग्लेलाई भोट हाल्ने बताएका छन्। कांग्रेस मतदाताले अघिल्लोचोटि चुनावी तालमेल क्रममा इमानदारी नदेखाएको भन्दै उनीहरू त्यसको बदला लिन चाहन्छन्।

हामीले भानु नगरपालिका–१० मा एक जना त्यस्तै माओवादी मतदाता भेटेका थियौं। ४८ वर्षीय भद्रनिधि लोहनीले अघिल्लोचोटि गठबन्धनका कारण पौडेललाई भोट दिएका थिए। तर कांग्रेसले त्यति बेला देशव्यापी रूपमा सबै माओवादी उम्मेदवारलाई सहयोग नगरेको भन्दै उनले यसपालि रास्वपाका वाग्लेलाई भोट हाल्ने बताए।

व्यक्तिगत रूपमा पनि वाग्ले राम्रो उम्मेदवार भएको उनको भनाइ छ। ‘हाम्रो सिद्धान्त र वर्ग मिल्दैन तर यही पुँजीवादी व्यवस्थामा चल्दा देशको आर्थिक स्थितिलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा उनी अरूभन्दा बढी नै सुझबुझ राख्छन्। अन्तर्राष्ट्रिय जगतमा पनि ख्याति कमाएका छन्,’ उनले भने।

अब हामी वाग्ले पक्षमा धेरै मतदाता आकर्षित हुनुका कारणबारे चर्चा गरौं।

पहिलो कारण, अधिकांश मतदाताले उनलाई अर्थविदका रूपमा चिनेका छन्। मुलुकको आर्थिक अवस्था डाँवाडोल भएको र कर्मचारीलाई तलब खुवाउन र सामाजिक सुरक्षा भत्ता दिनसमेत अप्ठ्यारो परेको अवस्थामा वाग्ले सांसद चुनिनु अहिलेको समयको आवश्यकता भएको उनीहरूको बुझाइ छ।

भानु नगरपालिका–११, मानेचौकाका दीपबहादुर ढुंगानाले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका वाग्लेलाई चुनाव जिताए सांसदका हैसियतमा अर्थतन्त्र उकास्न केही न केही योगदान गर्न सक्ने आशा गरेका छन्।

८७ वर्षीय ढुंगानाले अघिल्लोचोटि कांग्रेसलाई भोट हालेका थिए। उनको नजरमा कांग्रेसका गोविन्द भट्टराई पनि गलत उम्मेदवार होइनन्। भट्टराईले तनहुँका ग्रामीण क्षेत्रमा खानेपानी पुर्‍याउन योगदान गरेको र लामो समयदेखि कांग्रेस राजनीतिमा लागेर दुःख पाएको उनी बताउँछन्। यति हुँदाहुँदै उनी यसपालि घन्टी चिह्नमा भोट हालेर वाग्लेलाई जिताउने पक्षमा छन्।

‘भट्टराई उम्मेदवार त सही हुन् तर समय गलत पर्‍यो,’ उनले भने, ‘वाग्ले हामी तनहुँवासीले मात्र होइन, सिँगो देशले नै ठूलो आशा राखेका व्यक्ति हुन्। उनलाई संसदमा पुर्‍याउने जिम्मेवारी तनहुँवासीमाथि आएको छ। हाम्रो यो जिम्मेवारीबीच भट्टराई भुंग्रोमा परे।’

उनले अगाडि भने, ‘सधैं एउटै ढुंगालाई मात्र पूजा गरेर पनि भएन! जीवनभर कति धूलोमैलो मात्र खाइरहनू!’

दोस्रो कारण हो, रास्वपाका अध्यक्ष रवि लामिछानेको लोकप्रियता।

हामीले भेटेका कतिपय मतदाताले अझै पनि स्वर्णिम वाग्लेलाई चिनेका थिएनन्। तर रवि लामिछानेप्रति उनीहरूको आकर्षण बेग्लै थियो। यो आकर्षण राजमार्ग आसपासका सहरी इलाकामा मात्र होइन, गाउँ–गाउँसम्म फैलिएको हामीले पायौं।

हामी मतदाता भेट्न उनीहरूका घर र पसलमा जाँदा यस्ता धेरै जना भेट्यौं, जो युट्युबमा लामिछानेका भाषण सुनेर बसिरहेका थिए। टिकटकमा भाइरल लामिछानेका क्लिप हेर्दै थिए। हामीले ती मतदातालाई कसलाई भोट हाल्ने भनेर सोध्दा उनीहरू स्वर्णिम वाग्लेको नाम लिन्थेनन्, रवि लामिछानेको नाम लिन्थे, घन्टीको नाम लिन्थे।

भानु नगरपालिकाको चन्द्रावतीमा हामी एउटा पसलमा छिरेका थियौं। त्यहाँ एक महिला लुगा सिउँदै थिइन्। हाम्रो प्रश्नमा उनी जवाफ दिन अनकनाइन्। त्यही बेला सँगै रहेका एक बालिकाले ‘घन्टीलाई’ भनेर जवाफ दिइन्।

रविले स्वर्णिमका लागि मत माग्न तनहुँका विभिन्न ठाउँमा पुगेर भाषण गरेका कारण पनि मतदाताहरू घन्टी चिह्नप्रति आकर्षित देखिन्छन्। कांग्रेसले आफ्ना राजनीतिक सभाहरूमा नि:शुल्क सवारी साधन उपलब्ध गराउँदा पनि मतदाता नगएको, तर स्वतन्त्र पार्टीको सभा हेर्न बसभाडा तिरेर मतदाताहरू गाउँगाउँदेखि ओइरिएको व्यास नगरपालिका, छाब्दीका एक मतदाताले बताए।

रविको लोकप्रियताकै कारण मंसिरको चुनावमा रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा समानुपातिकतर्फ तनहुँ-१ बाट रास्वपाले १२ हजार ७ सय ७३ मत ल्याएको थियो। त्यति बेला समानुपातिकतर्फ घन्टीमा भोट हाल्ने धेरै मतदाताले यसपालि प्रत्यक्षमै घन्टीमा मतदान गर्ने हामीलाई बताएका छन्। यसले पनि स्वर्णिम वाग्लेको दाबेदारी बलियो बनाएको छ।

तेस्रो कारण हो, पुराना राजनीतिक दलहरूप्रतिको विकर्षण।

धेरै मतदाता ‘राम्रो व्यक्ति र नयाँलाई मौका दिएर हेर्ने’ बताउँछन्। यसो भन्नेमा पुराना कांग्रेस र एमाले मतदाता दुवै छन्। उनीहरूले स्वर्णिमलाई नयाँ र राम्रो उम्मेदवारको पर्यायका रूपमा हेरेका छन्।

‘पुराना पार्टीका नेताहरू भाषण मात्र गर्छन्, खोइ काम गरेको?’ भानु नगरपालिका–९ का भीमबहादुर गुरूङले भने, ‘नेताहरू सबै पैसामुखी भए। जागिर पनि नेताकै आफन्तलाई मात्र खुवाउँछन्। जनताका छोराछोरी त विदेश जानुपरेको छ काम गर्न। देशलाई सिंगापुर बनाउने भाषण गर्छन् तर केही काम गर्दैनन्। हामी त्यस्ता नेताहरूबाट वाक्क भइसकेका छौं। त्यसैले यसपालि नयाँ र राम्रो उम्मेदवारलाई मत दिने हो।’

यसरी राम्रो र नयाँ उम्मेदवार छान्ने क्रममा तनहुँ–१ का सबैजसो वडामा एउटा अभियान नै चलेको हामीले भेट्यौं। त्यो हो- दल होइन, मत बदलौं।

हामीले यसपालि घन्टीमा भोट हाल्छु भन्ने पुराना कांग्रेस र एमाले मतदाताहरूलाई पार्टी बदल्नुको कारण सोध्दा अधिकांशले एउटै जवाफ दिन्थे, ‘हामी दल होइन, मत बदल्दै छौं।’ उनीहरू घन्टीलाई भोट हाले पनि आफू कांग्रेस वा एमाले नै रहने बताउँथे। अर्कोचोटि फेरि रूख वा सूर्यलाई नै भोट हाल्न सक्ने पनि भन्थे। यसपालिलाई भने स्वर्णिम वाग्लेलाई जिताउनैपर्ने पक्षमा उनीहरू देखिएका थिए। स्वयं वाग्लेले पनि आफ्नो चुनावी भाषण क्रममा ‘यसपालि दल होइन, मत बदलौं’ भन्ने गरेका छन्।

चौथो कारण, नागरिकता प्रकरणका कारण सर्वोच्च अदालतको आदेशबाट रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुम्नु र उनी गृहमन्त्रीबाट बाहिरिनु।

उक्त घटनालाई धेरै मतदाताले रास्वपा वा लामिछानेविरूद्ध दलहरूको षड्यन्त्रका रूपमा बुझेका छन्। राम्रो काम गर्ने उद्देश्य लिएर राजनीतिमा आएका लामिछानेको खुट्टा तान्न सबै दलले मिलेर उनको मन्त्री र सांसद पद खोसेको केही मतदाताको बुझाइ छ। त्यस्ता मतदाता ‘दलहरूको षड्यन्त्रमा परेका लामिछानेलाई न्याय दिन’ घन्टीलाई भोट हाल्ने टुंगोमा पुगेको बताउँछन्।

‘दलहरूले स्वतन्त्र पार्टीलाई काम गर्ने मौका दिएनन्, रवि लामिछानेले एक महिना पनि गृहमन्त्री बस्न पाएनन्,’ मंसिरमा एमालेलाई भोट हालेका व्यास–१० का ४४ वर्षीय सूर्य गुरूङले भने, ‘हामीले अहिले स्वतन्त्र पार्टीलाई जितायौं भने संसदमा उनीहरूको प्रतिनिधित्व बढ्छ। नयाँ योग्य व्यक्तिलाई काम गर्न दिन पुराना दलहरूमाथि दबाब बढ्छ। यसले स्वतन्त्र पार्टीलाई सजिलो होला, अर्कोचोटि धेरै सिट जित्ने वातावरण पनि बन्ला।’

वाग्लेप्रति मतदाताको आकर्षण बढ्नुको पाँचौं कारण हो– कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग गरेको चुनावी तालमेल।

कांग्रेसले चुनावअघि नै कम्युनिस्ट पार्टीहरूसँग गठबन्धन गरेर हँसिया–हथौडा वा कलम चिह्नमा भोट हाल्न भनेको धेरै मतदातालाई चित्त नबुझेको हामीले पायौं। कांग्रेसका त्यस्ता मतदाता केन्द्रले सत्ताको निम्ति अन्य पार्टीसँग गठबन्धन गरेर आफूलाई रूखबाहेक अन्यत्र भोट हाल्न बाध्य पारेकाले यसपालि आफूहरूले स्थानीय तहमै रास्वपाका वाग्लेसँग ‘वैचारिक गठबन्धन’ गरेको बताउँछन्।

‘केन्द्रले सत्ताको निम्ति जोसँग पनि गठबन्धन गर्न हुने, हामी जीवनभर रूखबाहेक अन्यत्र भोट नहालेको मान्छेलाई हँसिया–हथौडामा भोट हाल् भन्न हुने, अनि हामीले चाहिँ आफ्नो मनखुसी भोट हाल्न किन नहुने?’ भानु–१० की पार्वती पन्तले भनिन्, ‘हामी मतदाताले पनि यसपालि स्थानीय तहमै घन्टीसँग वैचारिक गठबन्धन गर्‍यौं।’

वाग्लेप्रति आममतदाताको आकर्षणबीच कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले पनि ‘स्थानीय क्षेत्रमा काम गरेको नेता’ भन्ने परिचय बनाएको हामीले पाएका छौं।

उनलाई भोट दिन्छु भन्ने वा दिन्नँ भन्ने दुवैथरि मतदाताले शालिन र लामो समयदेखि स्थानीय स्तरमा निकै दुःख गरेको व्यक्तिका रूपमा चिन्छन्। तनहुँ–१ मा खानेपानीको सुविधा पुर्‍याउन उनले निकै मिहिनेत गरेको पनि धेरै मतदाताले सुनाए।

‘वाग्लेलाई यहाँ धेरैले अर्थविद वा राम्रो उम्मेदवार भन्छन् तर अहिलेको समयमा गोविन्द भट्टराईको योगदानलाई हामीले भुल्नु हुँदैन,’ भानु नगरपालिका–१३ की सुष्मा क्षत्रीले भनिन्, ‘उहाँले गाउँ–गाउँमा खानेपानी उपलब्ध गराउन निकै मिहिनेत गर्नुभयो। राजनीतिमा लागेर अवसर पाउनुभएन, तै पनि उहाँको काममा कमी आएन। यसपालि तनहुँवासीले भट्टराईको योगदानको ऋण तिर्नुपर्छ।’

वाग्ले योग्य व्यक्ति भए पनि आममतदाताको पहुँचभन्दा बाहिर छन् भन्ने बुझाइ केही मतदातामा रहेको हामीले पायौं।

भानु–१२ की ५५ वर्षीया सीता अधिकारीले पहिले कांग्रेसमा भोट हालेकी थिइन्। यसपालि उनी रूख कि घन्टी भन्नेमा अलमल छिन्। उनको यो अलमलको एउटा मुख्य कारण उम्मेदवारसँगको व्यक्तिगत चिनजान हो।

‘रामचन्द्र पौडेल तनहुँकै स्थानीय हुनुहुन्थ्यो, उहाँसम्म पुग्ने हाम्रो पहुँच थियो। गोविन्द भट्टराईसँग पनि हाम्रो त्यस्तै पहुँच छ। भोलि केही पर्‍यो भने गुहार्न सकिन्छ,’ उनले भनिन्, ‘स्वर्णिम वाग्ले योग्य व्यक्ति होलान्, तर भोलि हामीलाई पर्दा उहाँलाई गुहार्न जाने कसरी? उहाँसम्म पुग्ने, उहाँलाई आफ्नो कुरा सुनाउने हाम्रो पहुँच छैन।’

कसलाई भोट हाल्ने भनेर अलमलमा रहेका यस्ता मतदाताले सबै रूख वा सूर्यलाई भोट हाले पनि घन्टीलाई फरक पर्ने देखिँदैन। स्वर्णिम वाग्लेले आफ्नो व्यक्तित्व, पार्टी सभापति रवि लामिछानेको लोकप्रियता, पुराना दलहरूप्रति आममतदाताको वितृष्णा लगायत कारणले कांग्रेस र एमालेसँग यति फराकिलो दुरी बनाइसकेका छन्, जुन दुरी मेट्न अरू उम्मेदवारलाई अहिलेकै अवस्थामा निकै मुश्किल देखिन्छ।