उपचुनाव नजिकिँदै जाँदा बारा-२ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको छ । वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् ।यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । उनीहरुको सक्रियताले चुनावी महोल रोचक बन्दै गएको छ । १ लाख ५ हजार मतदाता रहेको यस क्षेत्रमा ६४ दशमलव ४४ प्रतिशत मत खसेकोमा अधिकांश यादव, त्यसपछि मुस्लिम, वैश्य, थारु र अन्य जाति छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनावी मैदानमा उत्रिएपछि उनलाई रोक्ने रणनीतिमा अन्य दलका उम्मेदवार झन् सक्रिय बन्दा चुनावी माहोल झन् गरमागरम बनेको छ ।

गत मंसिरको चुनावमा सप्तरीबाट चुनाव हारेका यादव र काठमाडौंबाट चुनाव हारेका रमेश खरेल चुनावी क्षेत्र र दल बदलेर चुनावी मैदानमा उत्रेका छन् । गत मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा चयन भएसँगै यो निर्वाचन क्षेत्र खाली भएपछि सोही पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मोरङ, सुनसरी, सप्तरी हुँदै यसपालि बारा आइपुगेका जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, माओवादी, नेकपा एसलगायतको समर्थनमा चुनावी मैदानमा छन् । गत मंसिरमा उनी सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट हार बेहोरेका थिए । त्यसो त ३४ जना उम्मेदवार प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धा भने जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमतका शिवचन्द्र कुसवाहा भइरेहेको देखिन्छ। २९ जना पुरूष र ५ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । ३६ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएका थिए ।यही क्षेत्रका स्थानीयबासी कुसवाहा गत मंसिरको चुनावमा माओवादीबाट उम्मेदवार भएर एमालेको समर्थनमा रहेका जसपाका रामसहायबाट ३ सय ५४ मतले हार बेहोरेका थिए । कुसवाहाले १३ हजार ४ सय ६८ मत ल्याई प्रतिद्वन्द्वी थिए भने रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका थिए । यसपाली कुसवाहा माओवादी त्यागेर जनमतबाट चुनाव उठेका छन् । माओवादीबाट २०६४ मा त्यसै क्षेत्रबाट जितेका कुसवाहालाई २०७० को चुनावमा टिकट नदिएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा हारेका थिए । आफू क्षेत्रवासी स्थानीय भएको र अरु उम्मेदवार बाहिरका भएकाले उनले जित्ने दाबी गर्दै आएका छन् ।

२०४८ बाटै चुनाव लड्दै र पटकपटक सांसद र मन्त्री बनेका जिल्लाबासी एमाले उम्मेदवार पौडेल पनि तीव्र प्रतिस्पर्धामा रहेका छन् । उनले अरु उम्मेदवारलाई जनताले हराएर अस्वीकार गरिसकेका आफू यो क्षेत्रका लागि नयाँ उम्मेदवारसँगै जिल्लाबासी भएकाले जित्ने दाबी गर्दै मत माग्न व्यस्त छन् ।

पुर्ख्यौली घर यसै निर्वाचन क्षेत्रमा रहेका अर्का आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली गत चुनावमा स्वतन्त्रबाट ७ हजार ६ सय ९८ मत ल्याएका थिए । यसैगरी सुशासन पार्टीका अध्यक्ष पूर्वडिआइजी काठमाडौं-१ मा गत चुनावमा पाँचौं स्थानमा रही ३ हजार १ सय मतमा सीमित रही कांग्रेसका प्रकाशमान सिंहबाट हारेका थिए । उनी अहिले आफ्नो पार्टीबाट नभइ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् ।

उपेन्द्रले आफ्ना पार्टीका तत्कालीन निर्वाचित सांसद रामसहायको तिनै मत, जातीय बाहुल्यता, पार्टीका २ प्रदेशसभा सदस्य, बागी उठेका रामकिशोर यादवसहित क्षेत्रका ५ पालिकामध्ये २ गाउँपालिका र अधिकांश वडाहरु आफ्नो पोल्टामा रहेकाले उनी जित्ने दाबी गर्दै आएका छन् ।

यो क्षेत्रमा ५ पालिकामध्ये जसपा नेतृत्वको पालिका प्रमुख, उपप्रमुख २, कांग्रेस २ र एमाले १ पालिकाको प्रमुख र उपप्रमुखमा छन् । निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन् । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् । देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् ।