काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताएका छन् ।

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे ।

‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको हैन’ उनले भने,  ‘तपाईहरूलाई महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लाग्ला ।  तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो । ‘

महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको बताए ।प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिकव्ताले पनि सदर गरेका थिए ।