कास्की । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे र स्याङजाका भोजराज अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्याललेको मनोनयन दर्ता गरेका हुन्।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ छन् । प्र दिउँसो ३ बजेदेखि मतदान गर्न अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । प्रदेश सभास्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुँदैछ । कांग्रेसबाट गण्डकीमा २७ जना सांसद छन् । पाण्डे सभापति शेरबहादुर देउवा समूहका हुन् भने अर्याल शेखर कोइराला र गगन समूहका हुन् ।

पाण्डे र अर्याल दुबैले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै आएका थिए । तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ । दुबैले दलको नेतामा आफैंले जित्ने दाबी गर्छन् । देउवा समूहबाट दलका नेता दाबी गरेका विन्दु थापाले सुरेन्द्रराज र नवलपुरका महेन्द्रध्वज जीसीले अर्याललाई समर्थन गरेका छन् ।