बुटवल — इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै डीएसपी ठगबहादुर नियन्त्रणमा लिएको हो ।
सुन कारोबारसम्बन्धी मुद्दामा व्यापारीसँग रकम असुली गरेको विषयमा विवादमा मुछिएका केसीलाई अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा समेत खानतलासी गरेको थियो । खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । नगद र सुनसहित फेला परेका केसीलाई आइतबार साँझदेखि नै नियन्त्रणमा लिएर राखिएको छ ।
मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले रकम असुलीबारेको अनुसन्धानमा सीबीआई टोलीले सुरक्षा निगरानीमा राखेको बताए । ‘केही अनुसन्धान गर्नुपर्ने विषय भएकाले सुरक्षा निगरानीमा राखिएको हो । दिउँसो सीबीआई टोलीसँग भेटेपछि थप कुरा प्रष्ट हुनेछ,’ उनले भने ।