प्रशन्न पोखरेल

सत्ता गठबन्धनमा रहेका दलहरू अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर नयाँ सरकार बनाउनतर्फ अग्रसर भएका छन्। गठबन्धनका शीर्ष नेताहरूले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आलोपालो अबको सरकारको नेतृत्व गर्ने समझदारी गरेका छन्। ५ वर्षे कार्यकाललाई भागबन्डा गरेर कांग्रेसबाट दुई वर्ष, माओवादीबाट दुई वर्ष र एकीकृत समाजवादीबाट १ वर्ष प्रधानमन्त्री हुने गरी दलहरूका शीर्ष नेता सहमत देखिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार बालुवाटारमा आलोपालो प्रधानमन्त्रीमा सहमति जुटेको थियो। यो सहमतिलाई उनीहरूले लिखित भने गरिसकेका छैनन्। अहिलेसम्म मौखिक सहमति मात्रै हो। आलोपालो प्रधानमन्त्री हुने सहमति गरेका दलहरूले पहिलो २ वर्षे कार्यकाल को प्रधानमन्त्री हुने सहमति जुटाइसकेका छैनन्। त्यसका लागि आज बिहान १० बजेपछि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता पुन: छलफलमा जुट्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न दलहरूलाई पुस ३ मा दिएको ७ दिनको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसैले दलहरूले आज निर्णायक छलफल गर्ने तयारी गरेका हुन्। तत्काल एउटा मात्रै सहमति गर्नुपर्ने विन्दुमा दलहरू उभिएका छन् त्यो हो- पहिलो कार्यकाल प्रधानमन्त्री कांग्रेसले लिने कि माओवादीले। कांग्रेसले गत मंसिर ४ को चुनावमा प्रतिनिधि सभातर्फ ८९ सांसदसहित आफूहरू सबैभन्दा ठूलो दल भएको र जनताको म्यान्डेट पनि ठूलो दलले सरकारको नेतृत्व गरोस् भन्ने देखिएको भन्ने तर्कसहित पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको छ।

माओवादीले भने यो गठबन्धन चुनावपछि बनेको नभई पहिलेदेखिकै निरन्तरता भएकोले यसपालि आफूहरूलाई प्रधानमन्त्री छाड्न र राष्ट्रपति लिन कांग्रेसलाई आग्रह गरिरहेको छ। ‘आलोपालो प्रधानमन्त्री हुने भन्नेमा नेताहरू सहमत देखिनुभएको छ। अहिलेको विवाद भनेको पहिलो कार्यकाल को प्रधानमन्त्री हुने भन्नेमा मात्रै हो,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘कांग्रेस ठूलो दल भएकोले पहिले प्रधानमन्त्री लिन खोजिएको छ। तर माओवादीले पनि दाबी छाडेको छैन।’ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा यो गठबन्धन तोड्ने पक्षमा देखिएका छैनन्। गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनले बताउने गरेका छन्। 

कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा एमालेका केही नेताहरूले अनौपचारिक रूपमा आग्रह पनि गरिरहेका छन्। माओवादीका केही नेताहरूसँग पनि एमालेले छलफल गरिरहेको छ। तर यस्ता छलफल पार्टीको नेतृत्व गरिरहेकाहरूको तहबाट भएको छैन, दोस्रो तहका नेताहरूबाट भइरहेका छन्। ‘एमालेका केही नेताहरूले कांग्रेस नेताहरूसँग छलफल त गरिरहेका छन् तर यो गठबन्धन तोड्ने पक्षमा सभापति देउवा देखिनु हुन्न,’ उक्त स्रोतले भन्यो, ‘आज बिहान १० बजेपछि गठबन्धन बैठक गरेर पहिलो कार्यकाल कसले प्रधानमन्त्री लिने सहमति हुन्छ र आजै राष्ट्रपतिकहाँ पुगेर प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश हुन सक्छ।’ सत्ता गठबन्धनमा रहेका दलहरू प्रधानमन्त्री नियुक्तिका लागि समय थप गर्न राष्ट्रपतिलाई आग्रह गर्ने पक्षमा पुगिसकेका छैनन्। आज छलफल गरेपछि सहमति जुट्ने विश्वास रहेको नेताहरूले बताएका छन्। 

सत्ता गठबन्धनमा रहेका दलहरूसँग सरकार बनाउन आवश्यक १३८ सांसद भने छैनन्। उनीहरूले ६ सांसद रहेको सिके राउत नेतृत्वको जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन कोसिस गर्ने तयारी गरेका छन्।कांग्रेससँग ८९, माओवादीसँग ३२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, राष्ट्रिय जनमोर्चासँग १ गरी १३६ जना सांसद छन्। बहुमतका लागि २ सांसद अपुग हुन्छ। जनमत पार्टीले समर्थन गरेमा १४२ सदस्यको समर्थनसहित सरकार बन्ने स्थिति बन्छ।

नेकपा एमालेले नयाँ सरकार बनाउन घनिभूत छलफल गरेको छैन। अनौपचारिक रूपमा कांग्रेस र माओवादीसँग एमालेका नेताहरूले कुराकानी भने गरिरहेका छन्। तर अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘प्रचण्डले प्रधानमन्त्री हुने इच्छा राखे पनि ढिला भएको’ प्रतिक्रिया दिएका थिए। ‘एमालेले पनि सरकार बनाउन भित्रभित्र तयारी गरिरहेको छ। यो गठबन्धन फुटाउन सके सरकार बनाउन सकिन्छ भन्ने उसको बुझाइ छ,’ कांग्रेसका ती नेताले भने।

माओवादीको साथ पाएमा एमालेले सरकार बनाउने तयारी गर्न सक्ने देखिएको छ। एमालेसँग ७८ जना सांसद छन्। माओवादीका ३२ जना थपिए भने उसलाई सरकार बनाउन अझै २८ जना सांसद चाहिन्छ। त्यसका लागि २० सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सांसद भएको राप्रपा वा १० सांसद भएको नेकपा एकीकृत समाजवादीको साथ लिनुपर्ने हुन्छ।