कास्की — गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित गण्डकी प्रदेशसभाका सदस्यको शपथ कार्यक्रम पुस १४ मा गर्ने तयारी गरिएको छ । नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ खुवाउने तयारी भइरहेको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखेरलले जानकारी दिए । ‘अनौपचारिकरुपमा १४ गते गर्ने भनेका छौं,’ उनले भने, ‘औपचारिकरुपमा बिहीबार निर्णय गर्नेछौं । हामी माननीयहरुलाई पत्राचार गर्नेछौं ।’पुस १३ बिहान ११ बजे ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने छन् । ज्येष्ठ सदस्यको रुपमा पहिलो शपथ पर्वतका मित्रलाल बस्यालले लिने सचिवालयले जनाएको छ । ‘उहाँले शपथ लिएपछि पुस १४ गते संसद् सचिवालयमा अन्य माननीयले शपथ लिनुहुनेछ,’ सचिव पोखरेलले थपे, ‘अन्य माननीयको शपथ उहाँ (बस्याल)ले गर्नुहुनेछ ।’ शपथ कार्यक्रम दिउँसो १ बजे भए पनि सांसदलाई बिहान ११ बजे सचिवालय बोलाउने तयारी रहेको उनले बताएका छन् । उनका अनुसार सांसदहरुको फोटो खिचाउने काम, व्यक्तिगत फारम भर्ने काम बाँकी नै छ ।
यस्तै, निर्वाचन आयोगबाट लिएको प्रमाणपत्रको फोटोकपी पनि लिनुपर्ने भएकाले छिट्टै बोलाइने तयारी भएको उनले बताएका छन् । यस्तै, शपथ लिन आउँदा सांसदले नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाणपत्र ल्याउनुपर्ने छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणलीबाट ३६ र समानुपातिक निर्वाचन प्रणलीबाट २४ गरी ६० सांसद छन् ।
गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस रहेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २७ सिट पाएको छ भने दोस्रो दलको रुपमा एमाले रहेको छ । एमालेका २२ सांसद रहेका छन् । यस्तै ८ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सिट र एकीकृत समाजावादी पार्टीको १ सिट रहेको छ ।
संघमा राष्ट्रपतिले सरकार गठनको आह्रवान गरेसँगै गण्डकीमा पनि शपथ कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । गण्डकी प्रदेशमा सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत पुग्दैन । ६० सदस्यमध्ये सरकार गठनका लागि ३१ सांसद चाहिन्छ । हालकै गठबन्धन कायम रहेको अवस्थामा गण्डकीमा गठबन्धनको सरकार बन्ने छ । प्रदेशसभाको पहिलो बैठक कहिले बस्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको संसद् सचिवलायका सचिव पोखरेलले बताए । उनका अनुसार पहिलो बैठकका लागि पनि तयारी भइरहेको छ । तर निर्वाचित सांसद शपथ या सरकार निर्माण गर्नभन्दा पनि संसदीय दलको नेता को बन्ने भन्ने दौडधुपमा छन् । संविधानमा व्यवस्था भएअनुसार पुस २२ अघि नै प्रदेश प्रमुखले पहिलो बैठक बोलाउनुपर्ने छ ।