काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृसंस्था  लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका लागि तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार र शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश पन्थ, केन्द्रीय सदस्य माधव चम्लागाई, र पूर्वकेन्द्रीय सदस्य विकास थापा प्रतिष्पर्धामा उत्रिन लागेका हुन् । ७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्षमा आकाङ्क्षी पन्थ आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्। चम्लागाई भने कांग्रेसको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। 

संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनीत गरिने व्यवस्था छ।कांग्रेस सभापति शेर बहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।