सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेकाे मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेकाे हो ।थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ ।बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् ।त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।  भोलि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्ने बताइएको छ।  साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।