राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले लामिछानेमाथि लगाइएको निलम्बनप्रति पनि आपत्ति जनाएका हुन् ।उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे । छिटै रास्वपाको चौथौँ चरण सुरु हुने र सबैले पार्टीको अस्तित्वलाई स्वीकार गर्ने उनको भनाई थियो ।वाग्लेले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभए पनि जबरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे ।उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए ।उनले दुई तिहाइको सामर्थ्य भएको वर्तमान सरकारले विधिको शासन स्थापित गर्न नसकेको पनि टिप्पणी गरे । उनले अध्यादेशलाई नियमित लयको रूपमा प्रस्तुत गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।