निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ खसेको मत गनेर मंगलबार रातीसम्म सक्दैछ। मतगणना सकेपछि आयोगले कुन दलले देशैभरिबाट कति मत ल्यायो निकाल्नेछ। त्यसअनुसार कुन दलले प्रतिनिधि सभा र प्रदेश सभामा कति सिट पाउँछन् थाहा हुन्छ।
मंगलबार दिउँसो २ बजेसम्म १ करोड ५ लाख ६० हजार ६७ मत गणना गरिसकिएको छ। नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ। राष्ट्रिय पार्टी भइसकेकामध्ये जसपा, राप्रपा र जनमत पार्टीले समानुपातिकतर्फ १० प्रतिशत मत कटाएका छैनन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने चौथो दल भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १४ सिट पाउने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सदर मतमध्ये अहिलेसम्म १०.७० प्रतिशत मत कटाएकोले उसले समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार समानुपातिक सांसद पठाउनु पर्ने हुन्छ। खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७, मधेशी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाअनुसार समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाका नाम समावेश गर्नुपर्ने व्यवस्था छ।
स्वतन्त्र पार्टीमा प्रतिनिधि सभामा ७ जनाले प्रत्यक्षतर्फ चुनाव जितेका छन्। काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, ललितपुर ३ मा तोसिमा कार्की, चितवन १ मा हरि ढकाल, चितवन २ मा रवि लामिछानेले चुनाव जितेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीमा २ जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका छन्। संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन अब समानुपातिकबाट थप महिला पठाउनु पर्ने हुन्छ। रास्वपाले समानुपातिकमा १४ सिट पायो भने प्रत्यक्षका ७ गरी २१ सिट जित्छ। त्यसो हुँदा संसदमा उसका कम्तीमा पनि ७ जना महिला सांसद हुनुपर्छ। २ जनाले प्रत्यक्षतर्फ जितेकाले समानुपातिकबाट अब ५ जना महिला सांसद पठाउनुपर्ने हुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार तय गर्दा खुला प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गरेको थियो। गत असोजमा प्राइमरी इलेक्सनमा धेरै मत ल्याउनेहरूको नाम क्रमअनुसार मिलाएर स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार सूची आयोगमा बुझाएको थियो। स्वतन्त्र पार्टीले त्यसबेला समानुपातिक उम्मेदवार चयन गर्दा ३९ हजार १३ जनाले मतदान गरेको दाबी गरेको थियो। सोहीअनुसार पार्टीले ११० जनाको नाम आयोगमा पेश गरेको थियो।
‘खुला प्रारम्भिक निर्वाचन’ प्रक्रियाबाट खस-आर्य खुला, खस आर्य महिला, आदिवासी महिला, आदिवासी खुला, थारू खुला, थारू महिला, मुस्लिम खुला, मुस्लिम महिला, मधेसी महिला, मधेसी खुला, दलित महिला, दलित खुला र पिछडिएको क्षेत्रका उम्मेदवार छानिएको पार्टीले बताएको थियो। त्यसबेला प्राइमरी इलेक्सनमा खसआर्य खुलातर्फ डोलप्रसाद अर्यालले ९६२, गणेश कार्कीले ६५९, दीपक बोहराले ६५५ मत ल्याएका थिए। यो समूहमा प्राइमरी इलेक्सनका बेला १७ जनाको उम्मेदवार थिए।
खसआर्य महिलातर्फ प्राडा चन्दा कार्कीले १०८९, निशा डाँगीले ७४०, चन्द्र ऐर चाँदनीले ५७२ मत ल्याएका थिए। यो समूहमा पनि १७ जना उम्मेदवार थिए। दलिततर्फ सन्तोष परियारले ५५१, शिव नेपालीले ५४१ र खिमबहादुर वादीले २०७ मत ल्याएका थिए भने महिलातर्फ कल्पना रोक्काले ५३४, रूपा शंकरले ४७१ र सविना विश्वकर्माले ४६१ मत ल्याएको उक्त पार्टीले विज्ञप्ति नै निकालेर जानकारी दिएको थियो।
आदिवासी जनजाति खुलातर्फ ढाकाकुमार श्रेष्ठ १४४९, मेघबहादुर आले ३६४र विष्णुकुमार श्रेष्ठ २९३ मत ल्याएका थिए भने महिलातर्फ इन्दिरा राना मगर ७६३, सुमना श्रेष्ठ ७५३ र विन्दवासिनी काशंकार ५०० मत ल्याएका थिए। थारूको खुलातर्फ अशोककुमार चौधरी ७५२, प्रेमलाल चौधरी ४१२, हेरानु थारू १७६ मत ल्याएका थिए भने महिलातर्फ रूपशिखा चौधरी ५३६, सविना महतो ४४०, पुष्पाकुमारी चौधरी ३२५ मत ल्याएका थिए।
मधेशी खुलातर्फ मनीष झा ७५५, तपेश्वर यादव ६६२, सुरेशप्रसाद शाह ३६० भोट ल्याएका थिए भने महिलातर्फ लक्ष्मी तिवारी ९१८, निशा मेहता ६३६, कामिनी कुमारी ३८३ र मुस्लिम खुलामा असिम शाह ९५९ र इश्रामुल्ला मियाँ ७३४ मत ल्याएका थिए। मुस्लिम महिलातर्फ सामिना मियाँ ९५२, समिउन निशा ८८५ र रजिया खातुन ५५५ मत ल्याएका थिए भने पिछडिएको क्षेत्रबाट विनिता कठायतले १३१, मोहनराज जोशीले ९८ र दानबहादुर बुढा ६१ मत ल्याएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर नै बन्द सूची पेश गरेको थियो। समानुपातिकमा उसले १४ सिट पाए आदिवासी जनजातिबाट चार जना, खस आर्यबाट चार जना, एक जना थारू, २ जना दलित, २ मधेशी र एक जना मुस्लिमलाई सांसद बनाउनुपर्ने हुन्छ। यो १४ जनामध्ये ५ जना महिला पठाउनु पर्ने हुन्छ।
रास्वपाभित्र प्राइमरी इलेक्सनमा आएको मत हेरेर धेरै मत ल्याउनेलाई समानुपातिकतर्फ सांसद पठाउनुपर्ने माग उठेको छ। पार्टीका नेता मनीष झाले प्राइमरी इलेक्सनअनुसार नै समानुपातिकतर्फ बन्दसूचीमा नाम पठाइएको र समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसदहरू चयन हुने बताए। पार्टी प्रवक्ता एवं डाक्टर मुकुल ढकालले पनि प्राइमरी इलेक्सनअनुसार नै समानुपातिक सांसद छानिने बताएका छन्।