पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ ।पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।गौतमले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन आज अन्तिम हो ।’पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।