आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै प्रदेश सरकारहरु अब कसले हाँक्छ भन्ने कौतुहल पनि बढिरहेको देखिन्छ । मंसिर ४ गतेको चुनाव नजिकिँदै गर्दा मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ । स्थापनाको पहिलो पाँच वर्ष २ मुख्यमन्त्री पाएको गण्डकीले आसन्न प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्रीका रुपमा नयाँ अनुहार आउने पक्का छ ।एकीकृत समाजवादी कमजोर रहेको गण्डकीमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रमध्येबाटै मुख्यमन्त्रीको बन्ने देखिन्छ । यी दलका केही नेता भावी मुख्यमन्त्रीको दाबीसहित चुनावी अभियानमा छन् । कतिपयले आफूले आफैलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपय नेता कार्यकर्ताले सम्भावित भनेर औंल्याएका छन् ।

साढे ३ वर्ष गण्डकी सरकारको नेतृत्व गरेका पृथ्वीसुब्बा गुरुङ यस पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् भने वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले टिकट नै पाएनन् । गण्डकी सरकारको नेतृत्व हाँकेका यी दुई मुख्यमन्त्री प्रदेशमा उम्मेदवार नहुँदा नयाँ अनुहार आउने निश्चित भएको हो ।गण्डकीमा ६० सिटमध्ये २४ सिट समानुपातिक र ३६ प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । बहुमत ल्याउन ३१ सदस्य आवश्यक पर्ने गण्डकीमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा संयुक्त चुनावी मोर्चामा छन् । सत्ता गठबन्धनसँग नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

निर्वाचनको सरगर्मी बढेसँगै अहिलेसम्म नेपाली कांग्रेसबाट ४, एमालेबाट १  र माओवादीबाट १ जनालाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि अहिलेसम्म कुनै दलले औपचारिक रुपमा मुख्यमन्त्रीको दाबेदार भनेर अगाडि बढाएका छैनन् ।

एमालेबाट खगराज अधिकारी मुख्यमन्त्रीको रुपमा प्रमुख दाबेदार मानिएका छन् । केन्द्र सरकारमा मन्त्री भइसकेका अधिकारीलाई पार्टी नेतृत्वले भावी मुख्यमन्त्रीको उभ्याउँदै प्रदेशमा उम्मेदवार बनाएको हो । उनी पनि आफूलाई एमालेमा सिनियर र अनुभवी भएकाले मुख्यमन्त्रीको स्वाभाविक दाबेदार भएको बताउँछन् ।

गत हप्ता पोखरामा पत्रकार भेटघाट कार्यक्रममा उनले संघमा गृह मन्त्रालय सम्हालिसकेकाले चुनाव जिते मुख्यमन्त्रीको दाबेदार स्वाभाविक रुपमा रहने बताए । तर, उनी मुख्यमन्त्री हुन प्रदेशसभामा एमालेले बहुमत हासिल गर्नुपर्ने तथा सत्ता गठबन्धनबाट माओवादीका दीपक कोइरालालाई उनले कास्की–१ (ख) मा पराजित गर्नुपर्ने चुनौती छ । कोइराला यसअघि गण्डकी प्रदेशसभा सदस्य हुन् । यो क्षेत्रमा कोइराला पनि प्रभावशाली मानिन्छन् । ०७४ सालको चुनावमा वाम गठबन्धनबाट दुवै जना यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । कोइराला कास्की क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभामा र अधिकारी कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचत भएका थिए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको प्रवल दाबेदार हुन् कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा । कांग्रेसले शर्मालाई समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । बन्द सूचीको बाटोबाट मुख्यमन्त्रीको दौडमा रहेका उनी पनि आफू स्वाभाविक रुपमा मुख्यमन्त्रीको दाबेदार भएको निकटस्थलाई बताउँदै आएका छन् ।

‘कांग्रेसमै बसेर राजनीति गरिरहेकाले कांग्रेसकै सरकार बन्छ र बन्ने सम्भावना भए हामी तयार हुनुपर्छ,’ शर्माले भने ।  नेपाली कांग्रेसमा शर्मा संस्थापन पक्ष इतरका हुन् । उनलाई रामचन्द्र पौडेलको साथ छ । गुटले प्रभाव नगरे शर्मा मुख्यमन्त्री बन्ने सम्भावना प्रवल छ ।

कांग्रेसबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन् कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य सुरेन्द्रराज पाण्डे । उनी गोरखा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धी एमालेबाट वसन्त गुरुङ छन् । त्यस्तै, नेपाली कांग्रेसबाट गण्डकीका कानुन मन्त्री विन्दुकमार थापा पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनले पनि मतदातासँग मुख्यमन्त्री हुने भन्दै मत मागिरहेका छन् । कास्की क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका थापाका प्रतिस्पधी एमालेका मिना गुरुङ छिन् । गुरुङ यसअघि समानुपातिकबाट प्रदेश सांसद भइसकेकी छन् ।

त्यस्तै कांग्रेसबाट समानुपातिकतर्फ बन्दसूचीको २ नम्बरमा रहेका धु्रव वाग्ले पनि मुख्यमन्त्रीको रेसमा छन् । ०५४ सालमा तनहुँको व्यास नगरपालिकाका मेयर भइसकेका उनी ०७४ मा तनहुँ क्षेत्र नम्बर २ (ख) मा एमालेका किरण गुरुङसँग पराजित भएका थिए ।

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार गण्डकी प्रदेशका पूर्व कानुन मन्त्री हरिबहादुर चुमान छन् । चुमान तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा निर्वाचन लड्दै छन् । यसअघि मन्त्री भइसकेका उनी माओवादीबाट गण्डकीको संसदीय दलका नेता थिए । उनले सार्वजनिक मञ्चमै मुख्यमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् । ‘पार्टीमा म अनुभवी र जिम्मेवार भएकाले यदि माओवादीले सरकारको नेतृत्व गर्ने अवसर आयो भने मुख्यमन्त्रीको जिम्मेवारी पूरा गर्न सक्छु,’ चुमानले भने । चुनावपछि माहोल अनुसार मुख्यमन्त्री माग्न र बन्न सकिने उनको भनाइ छ । श्रोत–रातोपाटी