‘मृत्युदेखि मलाई डर लाग्दैन’, शताब्दी पुरुष सत्यमोहन जोशीले एक समय भनेका थिए । सायद त्यसैले होला सामान्य मानिसभन्दा बढी अर्थात् १०३ वर्षको उमेरसम्म बाँच्न उनी सफल भए । १९३० वैशाख ३० गते जन्मिएका जोशीले रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा ४ वर्षअघि अर्थात २४ कात्तिक २०७५ मा मृत्युबारे भनेका थिए, ‘मृत्यु अवश्यम्भावी हो । नियमित आकस्मिकता हो । मृत्युदेखि डर लाग्दैन ।’ दर्शनमा विश्वास गर्ने, मृत्युदेखि नडराउने तर सहज मृत्यु चाहने उनै जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा किस्ट मेडिकल कलेज, ललितपुरमा निधन हुन पुग्यो । जोशीको दुःखद् निधनसँगै नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । लोकसाहित्य र लोक संस्कृतिमा उनको जतिको योगदान दिने अहिलेसम्म कोही छैनन् भन्छन्, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन । हो पनि, उनी जस्तो आदर्श व्यक्तित्व जन्मन कैयौँ वर्ष लाग्न सक्छ ।
नेवारी संस्कृतिमा जोशीलाई ‘इन्साइक्लोपिडिया’ नै मानिन्थ्यो । नेपाली संस्कृतिका बारेमा पनि उनले जति हिमाल, पहाड, तराईलाई जोड्न सक्ने सबैका संस्कृतिका बारेमा ज्ञान भएको व्यक्ति कमै छन् ।
उनको देहान्तले नेपाली भाषा, नेपाली साहित्य, नेपाली कला, नेपाली संस्कृतिमा ठूलो खाडल बनाइदिनेछ । उनी संसारभरि रहेका नेपालीले श्रद्धा गर्ने एक मात्र व्यक्तित्व थिए । ज्ञानका हिसाबले मात्र होइन व्यवहारले, हार्दिकताले, सबैप्रति गर्ने सम्मानको व्यवहार आदिले नेपालको आदर्श पुरुष थिए उनी ।
पछिल्लो समय ‘सत्यमोहन जोशी लोकसाहित्य भवन’ उनकै निवासमै बनाइएको छ । त्यो भवन बनाउने जग्गा पनि जोशीले नै लोकसाहित्य परिषद्लाई हस्तान्तरण गरेका थिए । त्यहाँ चारतले भवन बनेको छ । मुद्रा सङ्ग्रहालय, टिकट सङ्ग्रहालय, चित्रकला गरी तलाअनुसारका सङ्ग्रहालय बनाइएको छ ।
त्यस भवनमा लगभग लोप भइसकेका चित्रकला पछिल्लो दुई वर्षदेखि एक्स्पर्ट ल्याएर बनाउने क्रम चलिरहेको रोदन बताउँछन् । त्यो अन्तिम चरणमा पुगेको भए पनि जोशीको देहावसानले अपूर्ण रहन गएको छ ।
‘यो पूर्ण हुन सकेको भए विश्वकै लागि नमुना चित्र बन्ने थियो,’ रोदन भन्छन्, ‘यसमा चित्रसम्बन्धी अध्ययन गर्नेका लागि तान्त्रिक चित्र निर्माण हुँदैथियो ।’ केही दिनअघि बङ्गलादेशी साहित्यकारहरूको टोली लिएर जाँदा रोदनलाई सो कुरा बताएका थिए ।
पछिल्लो समय ललितपुर महानगरपालिकाले जोशीको ‘सिटी अफ ट्रडिसनल डान्स, ड्रामा एन्ड म्युजिक’ भनेर चारवटा पुस्तक प्रकाशन गरेको छ । यसका अतिरिक्त उनका प्रबन्ध तथा अनुसन्धानात्मक कृति १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
खासगरी गाउँले परिवेशको अध्ययन गर्न रुचाउने जोशीले नेपालका विभिन्न गाउँगाउँ गएर विरही गीत सङ्कलन गर्दै ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए । यस पुस्तकले विसं. २०१३ मा प्रथम मदन पुरस्कार प्राप्त गर्यो ।
यसैगरी नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालमा प्रयोग भएका मुद्राहरूको पनि उनले अध्ययन अनुसन्धान र खोजतलास गरे । अनि उनले ‘नेपाल राष्ट्रिय मुद्रा’ पुस्तक लेखे । यसमार्फत उनले विसं २०१७ मा दोस्रो पटक मदन पुरस्कार पाए । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा उनले नेपाली भाषाको उद्गम थलो सिञ्जा गएर नेपाली भाषासंस्कृतिको अध्ययन गरेर ‘कर्णाली लोक संस्कृति’ पुस्तक प्रकाशन गरे । त्यसले पनि मदन पुरस्कार प्राप्त गर्यो । यसरी नेपाली साहित्यमा तीन पटक मदन पुरस्कार प्राप्त गर्ने उनी एक मात्र व्यक्तित्व बन्न पुगेका छन् ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले मानार्थ विद्यावारिधि, नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो ।
जोशीले जीवनका अधिकांश समय अध्ययन अनुसन्धानमा खर्च गरे र राष्ट्रको महत्त्वपूर्ण पदमा बसेको अनुभवले उनी जिउँदो इतिहास थिए । नेपालको संस्कृतिबारे अध्ययन गरेर कहिल्यै नथाक्ने जोशीलाई संस्कृतिसम्बन्धी कुनै शङ्का लागेर फोन गरे तुरुन्तै उत्तर दिन सक्ने क्षमता राख्थे ।
‘सत्यमोहन’ आत्मकथा पुस्तकका लेखक गिरीश गिरीका अनुसार राष्ट्रका विभिन्न क्षेत्रमा पुर्याएको र हाम्रो पुस्ताले पाएको एउटा उदाहरणीय व्यक्तित्व सत्यमोहन थिए । विसं १९७७ देखिको इतिहासलाई प्रत्यक्ष भन्न सक्ने व्यक्ति भएको उनको ठहर छ ।
जोशी सधै नेपाली पहिचानमा रमाउँथे । सार्वजनिक कार्यक्रममा समेत उनी सधैँ नेपाली पोसाक दौरा, सुरुवाल र टोपीमा सजिन्थे । स्वदेशमा मात्र होइन विदेश यात्रामा पनि आफ्नो पहिचान नछोडेका कैयौँ उदाहरण छन् । त्यसबाट पनि बुझ्न सकिन्छ उनको राष्ट्रियताप्रति गहिरो प्रेम थियो ।
नेपाली पोसाकमा मात्र होइन नेपाली खानपान पनि उत्तिकै रुचि थियो उनको । सादा नेपाली खाना दालभात, तरकारी उनको मनपर्ने खाना थियो ।
जोशी १०३ वर्ष बाँच्न त्यतिकै सफल भएका होइनन् । त्यसको पछाडिको राज उनको फिट्नेस पनि हो । बुढ्यौलीमा पनि उनी दैनिक घरपरिसरभित्रै हिँड्थे । मानिस कसरी स्वस्थ रहन सकिएला भनेर चिन्तन मनन गर्थे । पीर चिन्ता केही लिँदैनथे ।
अध्ययनमा उनको विशेष रुचि थियो । उनको आफ्नै घरमा पनि पुस्तकालय छ । उनले कति पुस्तक अध्ययन गरे त्यसको लेखाजोखा नै छन् । त्यो उनको घरको निजी पुस्तकालयमा रहेका किताबको लेखाजोखा नहुनुले पनि स्पष्ट गर्छ ।
अहिलेको प्रविधिसँग उनी त्यति रमाउन सक्दैन थिए । त्यसैले ललितपुर महानगरपालिकाले सिम कार्डसहित मोबाइल उपलब्ध गराए पनि प्रयोग गर्दैन थिए । मोबाइल नचलाउने भएकाल उनीसँग सम्पर्क गर्न धेरै मानिस घरमै जाने गर्दथे । टेलिभिजन भने कहिलेकाहीँ हेर्थे । समाचार उनको प्राथमिकतामा पथ्र्यो ।
उनी मल्लकालमा बनेको बखुमबहाल, ललितपुरस्थित बस्दै आएका थिए । जहाँ पहिले बौद्ध विहार थियो। बौद्ध विहार पूरा नगर्दै राजाको निधन भएपछि उनका बुवाले यो जग्गा किनेका थिए । उनको सपना नेपाल हराभर भएको हेर्ने थियो । उनी सम्पूर्ण नेपालीको सुख र समृद्धि हेर्न चाहन्थे । जसका लागि उनी ‘माई कन्ट्री, माई मिसन’ जस्ता किताब लेखिनुपर्छ समेत भन्थे ।