असोज ३०, तनहुँ
तनहुँमा विगत तीन बर्षदेखि विश्वहिन्दु महासंघ शुक्लागण्डकी नगर समितीले पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उदेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामासमेत बृद्धी हुन थालेको छ । कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच बृद्धि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा अहिले ८ जना दलित समुदायका सहभागि सहित ३५ जनाले तालिम लिईरहेका छन् । उक्त तालिममा विभिन्न समुदायका ८ जना महिला समेत सहभागि छन् ।
तालिममा सहभागि भएका जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताउनुभयो । ‘समुदायमा बाहुन पुरोहितहरु नजाने, आफ्नै समुदायमा भएका केही पुरोहितहरु नभ्याउने समस्याले पुजा आजामा विधि नपुग्ने गरेको पाईयो ।’ उहाँले भन्नुभयो, ‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिईरहेका छु ।’ उहाँले समाजमा अन्य पुरोहित समेत तयार पार्न चाहेको समेत बताउनुभयो । सहभागि मध्येकी लक्ष्मी सिग्देललाई भने स–साना कार्यमा पुरोहित नै बोलाउनु पर्ने झन्झट मन पर्दैन । उनले आफैले सिप सिके परिवार र समाजमा सहज हुने विस्वास सहित तालिममा सहभागि भएको बताउनुभयो । ‘पुरोहित नै बन्ने उदेश्य त छैन, तर कार्जेमा सहयोगी बन्न सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘आफैलाई थाहा भए धेरै छरितो हुन्छ नि ।’ दुलेगौंडा स्थित शिवालयमा सञ्चालित तालिममा सहभागि भएकाहरु मध्ये अधिकाँशलाई धर्मको जगेर्नाप्रति चासो छ ।
गैरदलित समुदायसँगै मिलेर तिजको व्रतमा समेत पुजा गर्न नपाएकी विष्णुमाया नेपाली तालिममा सहभागि मध्ये एक्लो दलित महिला हुनुहुन्छ । ‘आफ्नो समुदायको पण्डित नहुने अरुले नमिसाउने, भुड्के पुजा गर्ने रहरै रहरमा जीवन वित्न लाग्यो ।’ उहाँले विगत सुनाउदै भन्नुभयो,‘धर्मकर्ममा गर्न मन लाग्छ तर कोही पण्डित नपाउने कारणले आफै सिक्ने आएको छु ।’ समाजमा जातीय रुपमा हुने विभेद न्यूनिकरण गर्न समेत समेत तालिमले सहयोग गर्ने समितिका अध्यक्ष घिमिरेको विस्वास छ ।उहाँका अनुसार सवै समुदायमा पुरोहित उत्पादन हुन सके परनिर्भरतामा कमी हुनुका साथै रोजगारी समेत सिर्जना हुने र विकृती जन्य मानसिकता कम हुनेछ ।