तनहुँको भानु नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ। बिहिबार भानु नगरपालिका वडा न १ साल्बिस्नेमा अन्तरक्रिया कार्यक्रम गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख आशमान तामाङले भ्रष्टाचार नियन्त्रण र सुशासनमा आम नागरिकको भूमिका महत्वपूर्ण हुने जानकारी दिँदै खाएको विष मात्रै लाग्ने र नखाएको विष नलाग्ने हुँदा गलत मनशाय राखेर काम नगर्न आग्रह गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले बेनामी उजुरीले गल्ती नै नगरे पनि दुःख पाएको, ब्यक्तिगत रिसिबीका कारण पनि अख्तियारमा उजुरी पर्ने गरेकाले हैरानी बेहोर्नु परेको, सरकारको असारे वजेटले समस्या पारेकोले आर्थिक अनियमितता हुने आशंका बढेको र अख्तियारमा उजुरी पर्ने गरेको , अख्तियारको तकेताले पालिकामा अन्य सेवाग्राहीको काममा समस्या भएको, बेरुजु रकमको बारेमा उजुरी पर्ने गरेको गुनासो गरिएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख तामाङले दुःख दिने मनशायले दिने उजुरी र बेनामी उजुरीको सन्दर्भमा आयोगको कार्यविधि शंशोधन गर्ने तयारी भैरहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भ्रष्टाचार मुक्त र शुसासन युक्त पालिका निर्माणका लागि सम्पूर्ण पालिकाबासीको गहन भूमिका रहने भएकाले सबै सचेत बन्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, वडाध्यक्षहरु, कार्यपालिकाका सदस्य तथा नगरसभा सदस्यहरु भानु नगरपालिकाका विभिन्न शाखाका कर्मचारी , विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरु नगरपालिकामा अवस्थित संघीय प्रादेशिक र स्थानीय तह कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा कास्की जिल्ला पछि तनहुँ जिल्लाका उजुरी परेको कार्यालयले जनाएको छ । कास्कीमा ५७९ उजुरी परेको छ भने तनहुँमा यश वर्ष १७९ उजुरी परेको छ । तनहुँ जिल्लामा ब्यास नपामा सबैभन्दा धेरै २८ वटा उजुरी परेको छ भने दोस्रो पालिका भानुमा १९ वटा उजुरी परेकोमा ११ वटाको फर्सौट भएको र ८ वटा उजुरी माथि छानबिन भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।