जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो ।

शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।”निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभयो । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उहाँको भनाइ छ ।कार्कीका अनुसार यस शाखामा रु ५० हजारदेखि रु एक करोडसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उहाँले बताउनुभयो ।