व्यास नगरपालिकाको आर्थिक बर्ष ०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार भव्य रुपमा सम्पन्न भएको छ ।
व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तीन सय पचास जना भन्दा बढी सहभागि भएका थिए । कार्यक्रममा ४३ जनाले जनगुनासा तथा प्रश्न राख्नुका साथै ५० भन्दा बढीले लिखित रुपमा प्रश्न राखेका थिए । कार्यक्रममा नेकाँ तनहुँका उपसभापति देवकुमार श्रेष्ठले नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम राखेर नागरिकका मनभित्र गुम्सिएका गुनासा र प्रश्नका जिज्ञासा मेटाउने कार्य गरेको बताए ।
नेकपा एमाले नेता तुलसीराम पाण्डेले व्यास नगरपालिकाकै अधिकाँश सटरहरु बन्द रहेको अवस्थामा बहुबर्षीय भवन निर्माण गर्न नहुनेमा जोड दिए । पृथ्वीराजमार्ग सडक विस्तारका क्रममा ८२ फिट नै कायम गर्नका लागि व्यासले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए । नेकाँ व्यास नगर कमिटिका अध्यक्ष व्यास नगरपालिकाले योजना तर्जुमा गर्दा तल्लो तहलाई लक्षित गरी बनाउनुपर्ने कुरामा जोड दिए । साथै स्वास्थ्य,शिक्षा र खेलकूद क्षेत्रमा पहलकदमी बढाउन आवश्यक रहेको औल्याए ।
नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाले राजनीतिक दलले नगर विकास कोषमा तत्काल निर्माण कार्य अघि नबढाउन आग्रह गरे अनुरुप व्यासमा बन्न लागेको बहुउद्धेश्य भवनको निर्माण कार्य प्रभावित भएको बताए ।
साथै कृषकहरुलाई लक्षित गरी कृषि एम्बुलेन्सको व्यवस्थाका लागि नगरपालिकाले चासो नदिएको हुँदा जतिसक्दो चाँडो व्यवस्था गर्नुपर्नेमा जोड दिए । रास्वपा व्यास नगर कमिटीका अध्यक्ष चूडामणि दाहालले पृथ्वीराजमार्ग सडक बिस्तारका क्रममा कुनै घर ७५ र ८२ फिट नगरी एकरुपता गर्नका लागि व्यासले पहल गर्नुपर्नेमा जोड दिए । नगर विकास कोषबाट धेरै शीर्षकमा ऋण लिएर काम गरिरहेको अवस्थामा पुन ः अर्को भवन निर्माण गरेर ऋणभारमा थप्न नहुने र बहुउद्धेश्य भवन निर्माण कार्यको कुनै औचित्य नहुनेमा समेत आफ्ना धारणा राखे ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले आर्थिक मन्दीका कारण बजार खाली हुदै गएको अवस्थामा बहुउद्धेश्य भवन निर्माण कार्य नबढादिन आग्रह गरे । व्यवसायी जुननाराण श्रेष्ठले व्यास नगरपालिकाले दुई महिना बढी समयदेखि सफा सडकका व्यापारिक सटर बन्द गरेर राख्नाले सामान मुसाले सखाप बनाएको हुँदा यसको जिम्मा कसले लिने हो भनि प्रश्न गरे । व्यास नगरपालिकाले नगरबासीलाई सुशासन र सुविधा दिने होकि दुख दिने हो यसको तुरुन्त निकास हुनुपर्नेमा जोड दिए ।
पूर्व शिक्षक बिष्णु बहादुर क्षेत्रीले विभिन्न जातजाति,धर्म,संस्कृति,कलाकार, साहित्यकार संस्कृतविदहरुले पहचान गरेका र रचना गरेका सिर्जित सम्पत्तिको प्रदर्शनी गर्ने गरी संग्रहालय स्थापन गर्नुपर्नेमा जोड दिए ।
व्यास–२ की हरिमाया बिकले सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने तर्फ नगरपालिकाले प्राथामिकता दिनुपर्ने बताइन् । व्यास–१ क श्रीकृष्ण पन्थले वडा नं १ ठुलो र बढी राजश्व संकलन गर्ने वडा भएकाले बजेट विनियोजनमा सबै वडालाई रुपता गर्न नहुने धारणा राखेका थिए । व्यासका बैकुण्ठ न्यौपानेले समयमा फोहोरमैला व्यवस्थापनको सवाल,भुक्तानी,भवन निर्माण ऋण नबोकाइदिन,नाला,पानी सडक,विद्युत लगायतका विषयमा उठेका जिज्ञासाका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा दीपक,घिमिरे,दिलबहादुर गुरुङ,बिष्णु भक्त न्यौपाने,कृष्णकुमार श्रेष्ठ, रेनु नेपाली,कमल राना,मनमाया धमेल, तीर्थ दरै,सुवेदार नेत्रबहादुर बस्नेत,मेघनाथ आचार्य,रुद्रबहादुर क्षेत्री कुँवर,हरिमाया बि.क.श्रीकृष्ण पन्थ,हरिप्रसाद शर्मा लगायतका व्यक्तिहरुले आआफ्ना गुनासा पोखेका थिए । कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले स्वागत तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाले संचालन र उपाध्यक्ष धनपति अधिकारीले तथ्याङकका बारेमा प्रकाश पारेका थिए ।