नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थागित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए । उनका अनुसार आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । उनले भने, ‘पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो । अर्को पेसीको मिति बेलुकासम्म आउँछ ।’
गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो । गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आज (असोज २) गतेका लागि पेसी दिइएको थियो । जिल्ला अदालतमा दुई जनामात्रै न्यायाधीश छन् । न्यायाधीश ढुंगाना भने शुक्रबारदेखि बिदामा छन् । एक जना न्यायाधीश काजमा आउने भनिए पनि हालसम्म उपस्थित नभएको सूचना अधिकारी गौतमले बताए । उनले भने, ‘कार्यरतमध्ये जो कोही बिदामा रहे पनि दुवैको नाम लेखेर गोलाप्रथा गर्नै पर्ने हुन्छ । बिदामा बस्नुभएको न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ ।
’यस्तै, सोही प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।