सांसद प्रकाश पन्थले एसईई परीक्षाको नतिजाको सन्दर्भमा विद्यालय की परीक्षाको बोर्डको नतिजा ठीक भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकमा शून्य समयमा बोल्दै उनले विद्यालयले मूल्यांकन गर्दा ४ जीपीए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जनामात्रै भेटिएको भन्दै नतिजाको सन्दर्भमा प्रश्न गरेका हुन् ।
उनले एसईईको नतिजाको पुन छानबिन गर्नुपर्ने माग पनि गरेका छन् । ‘विद्यालयले मूल्यांकन गर्न जीपीए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ?’, उनले भने, ‘४२ जनाले ल्याउने ठीक हो कि ९ हजार बढीले ल्याउने ठीक हो भन्ने कुराको छानबिन होस् ।’
उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययन बाहेक के अवसर दिन्छ भन्ने प्रश्न पनि गरे । ‘राम्रो जीपीए र ग्रेड ल्याउनेहरूलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेड ल्याउनेहरू लाखौँका लागि सरकारसँग के छ ?’, उनले भने, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सीप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’