पोखरा, ३१ असार
आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई गंगाज्योति स्मृति पुरस्कारबाट सम्मान गरिने भएको छ । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । आदर्श समाजले अद्वैत संस्थाका गतिविधि समेटेर समाचार सम्प्रेषण गरेवापत प्रधानसम्पादक बास्तोलालाई उक्त पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।
गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्तीका अवसरमा साउन १ गते काठमाडौंमा आयोजना हुने समारोहमा बास्तोलालाई सम्मान गरिने संस्थाका गण्डकी प्रमुख धनप्रसाद गुरुङले जानकारी दिए । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्षसमेत रहेका प्रधानसम्पादक बास्तोलालाई यसअघि २०७१ सालमा पनि अद्वैत संस्था नेपालबाट ‘मानार्थ सरस्वती’ उपाधिबाट विभूषित गरिएको थियो ।