१६ असार, तनहुँ । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिए । तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिए । ‘मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,’ उनले भने । धान रोपाइँ सकिएको करिब एक महिनापछि सुक्ष्म खाद्यतत्व प्रयोग गर्न तिवारीले किसानलाई सुझाव दिए ।

व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको छ । गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् ।