नेपाल मानव अधिकार बर्ष पुस्तक–२०२३ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँको आयोजनामा बर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भानु शर्माले मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको र राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए थिए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला सचिव राजेश्वर ढकालले इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार बनेको बताएका थिए । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । नेकपा एकिकृत समाजबादीका जिल्ला सदस्य दिपक खातीले स्वास्थ्य बिमा गरेका उपभोक्तालाई औषधी नपाउने र उपचार समेत राम्रोसँग नहुने विषयलाई पनि इन्सेकले आफ्नो प्रतिबेदनमा समेट्नु पर्ने बताए ।
नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार बर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताईन् । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मानव अधिकारको घटना कसैले नचाहेर हुने हुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताए । राज्यको नीतिमा विभेद भएको हुँदा त्यो विभेद हटाउन सबैले पहल गर्नु पर्ने बताए । इन्सेकले शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको हुँदा इन्सेकको प्रतिबेदनप्रति आफु र आफ्नो पार्टी पुर्ण विश्वस्त रहेको उनको भनाई रहेको थियो । तनहँु पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिबेदन तयार गरेर सन्चारकर्मीलाई धेरै सहयोग गरेको बताए । अधिकारको उपभोगसँगै कतव्र्य पालनामा पनि जोड दिनु पर्ने उनको भनाई थियो । मानव अधिकार निगरानी समुहका सदस्य श्रीराम कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२२ को ६ महिनाको तनहुँ जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस अवधिमा तनहँुमा भएका ६१ ओटा मानव अधिकार हननका घटनाहरुको विवरण प्रस्तुत गरिएको थियो ।