पोखरा ः जिल्ला प्रहरी कास्कीले एक केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ । एक केजी आठ ग्राम सुनसहित पोखरा १५ राम बजार निवासी २५ बर्षीय रेशम सुनार पक्राउ परेका हुन् । काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेका हुन । सुनारको साथमा फेला परेको बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा परीक्षण गराउँदा सुन नै भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।