तनहुँको बन्दिपुर गाउँपालिकाको आयोजनामा मंगलबार बन्दिपुर गाउँपालिकामा दिगो विकासका लागि पर्यटन,शिक्षा,स्वास्थ्य र सरसफाई सम्बन्धी बिषयक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘पर्यटन,कृषि,शिक्षा स्वास्थ्य सहकारी र पूर्वाधार,समृद्ध बन्दिपुर गाउँपालिका निर्माणको मूल आधार’ भन्ने नाराका साथ बन्दिपुर गाउँपालिकाद्वारा उक्त कार्यक्रम आयोजना गरेको हो । सरसफाई बिज्ञ नमस्तेलाल श्रेष्ठले फोहोरमैलाले नागरिकको पहिचान झल्किने हुँदा फोहोर मैला व्यवस्थापनमा सचेत बन्नुपर्ने बताए । फोहोरमैला जसले उत्पादन गर्यो उसले जिम्मेवारी नलिएका कारण व्यवस्थापनमा जटिल समस्या आएको उनले बताए । सिभिल इन्जिनियर बदनलाल न्याङछुले फोहोरलाई मोहर बनाउने कार्यमा नेपाल सरकार,गाउँपालिका र आमनागरिकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।
शिक्षाविद् चिजकुमार श्रेष्ठले शिक्षा,स्वास्थ्य र सरसफाईलाई संगसंगै लैजान सकेमात्रै पर्यटन क्षेत्रमा छिटो विकास गर्न सकिने बताए । जनताहरुमा सचेतना आउनुपर्छ फोहोरका कारण रोेगव्याधी आउने हुँदा व्यवस्थापनमा ध्यान दिनको लागि गाउँपालिकाले सबैको सहयोग लिएर अघि बढ्नुपर्ने बताए । फोहोरको प्रकार छुट्टाएर बर्गीकरण गरेर जनतालाई नै बढी जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिए । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले हरेक कुरा सरकारले नै गर्नुपर्छ भन्ने बानीको विकासमा परिवर्तन आउन नसक्दासम्म पर्यटन,शिक्षा,स्वास्थ्य र सरसफाई व्यवस्थापनमा दीर्घकालिन रुपमा समाधान हुन सक्ने बताए ।
जथाभावी फोहोर फ्याँक्दा आफ्नो परिवार लगायत टोल छिमेकका बस्तीमा दुर्गन्ध हुन्छ र नकरात्मक असर पार्छ भन्ने कुराको ज्ञान हुनुपर्ने उनले बताए । ज्ञान तथा सचेतना संम्बन्धित पालिकाले दिएर अग्रसर गराउनुपर्नेमा उनले जोड दिए ।
पर्यटनबिद् दिलेन्द्र राज श्रेष्ठ, स्वास्थ्यबिद्डा.मदन कुमार पिया शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेलले लगायतकाले आफ्ना सुझाव प्रस्तुत गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पञ्चमाया गुरुङ्गले गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका मातहतका ६ वटै वडाका वडाध्यक्ष,बन्दिपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबद्र्धन भट्टराई,गाउँपालिकाका प्रवक्ता शिबकुमार श्रेष्ठ लगायतका व्यक्तिहरुले आफ्ना गुनासा प्रस्तुत गरेका थिए ।