काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ ।यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो । आज बिहानदेखि गुर्जुधारामा एम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरुको लामो लाइन देखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २२ कात्तिक २०७८मा राजपत्रमा सूचना प्रकाशित गरी संघीय सरकारको यातायात कार्यालयले नामाकरण भइसकेका प्रदेशहरुमा १ मंसिरदेखि नयाँ दर्ता भएका सवारी साधनमा, १ फागुनदेखि नामसारी गरिने सवारी साधनमा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य गरिएको जनाएको छ ।