जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाह संञ्चालन केन्द्र स्थापना गरेको   छ ।  नवनिर्वाचित जनप्रतिनिधी निर्वाचित भएर आएपछि पहिलो पटक जनमुखी कार्यको थालनी गरिएको सो कार्यालयले जनाएको छ ।   सेवा केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख पण्डितले चुस्तदुरुस्त र मुस्कान सहितको सेवा प्रवाह गर्न,सेवाग्राहीको सेवामा एकरुपता ल्याउन र बिना झन्झट सेवाग्राहीले सेवा लिन पाउने गरी सेवा केन्द्र स्थापना गरिएको बताए ।  


कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको काममा ढिलाई सुस्ती भएमा, कुनै बिषयमा चित्त नबुझेमा प्रमुख र उपप्रमुखको ढोका सदैव खुल्ला रहने  जानकारी सो अवसरमा उनले बताए ।    कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले कुन शाखामा गएर कसलाई भेटेर काम गर्ने हो भन्ने बिषयमा अन्यौल हुने र अनाहकमा दुख भोग्नुपरेकोले सहजीकरणको लागि सेवा प्रवाह संञ्चालन केन्द्र स्थापना गरिएको हो ।  उक्त सेवा प्रवाह केन्द्रमा शुरुमा तीन जना कर्मचारी राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रवक्ता सचिन भुजेलले जानकारी दिए ।  दुई महिनासम्म सेवा दिएर हेर्छौ । उनले भने–‘त्यसपछि देखिएका कमिकमजोरीलाई सुधार्दै निरन्तरता दिने योजना रहेको छ ।’


सेवा लिन आउने सेवाग्राहीलाई कुनै बिषयमा चित्त नबुझेमा,कुनै समस्या आइपरेमा संम्बन्धित शाखा प्रमुख सेवाग्राही समक्ष आएर समधान गरिदिने व्यवस्था समेत रहेको छ ।  सेवाग्राहीले कार्यालय भित्रका कोठा कोठा चाहर्दै हिडनुपर्ने समस्याको अन्त्य हुने बिश्वास गरिएको सो नगरपालिका कार्यालयले जनाएको छ ।  सेवाग्राहीलाई आवश्यक पर्ने टेलिफोन,फोटोकपी,निवेदनका ढाँचा लगायतका सेवा सोही सेवा प्रवाह संञ्चालन केन्द्रबाट प्रदान गरिनेछ । सेवा प्रवाह केन्द्रमा सेवाग्राहीको भीडभाड हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिने प्रवक्ता भुजेलले बताए ।  कार्यक्रममा उपप्रमुख खुमबहादुर बिक राजु,प्रमुख प्रशासकीय अधिकृत लिलाबल्भव न्यौपाने लगायतका वक्ताहरुले सेवा प्रवाह केन्द्रलाई  प्रभावकारी ढंगले अघि बढाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।