शुक्लागण्डकी नगरपालिका अपांगता समन्वय समतिको सोमबार बसेको बैठकले २० जना विभिन्न अपांगता भएका व्यक्तिहरुलाई अपांगताको अवस्था अनुसार परिचय पत्र प्रदान गरेको छ । आज नगरपालिकामा बसेको सो समितिको बैठकबाट परिचय पत्र वितरण गरिएको समतिका सदस्य एवं अपांगता अधिकार कर्मी दामोदर रेग्मीले बताउनुभयो । उक्त बैठकले समतिमा बौदिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट अभिभावक निरु बस्नेतलाई समेत मनोनित गरेको उनले बताए ।
“ गम्भिर अपांगता भएका व्यक्तिहरुलाई उनिहरुको अवस्थाअनुसार निजहरुको घरैमा गएर सेवा प्रदान गर्ने योजना अनुसार वडा नं. ५ मा रहनु भएका दुई जना मध्ये एक जना पूर्ण अपांगता र अर्को एक जना अति अपांगता भएका व्यक्तिहरुलाई उनिहरुकै घरमा गएर परिचय पत्र वितरण गरिएको छ ” समितिका सदस्य सचिव एवं सामाजिक शाखा प्रमुख हेमा पोख्रेलले बताउनुभयो । उक्त कार्यक्रममा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने रातो परिचय पत्र ३ जनालाई, अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने निलो परिचय पत्र ११ जनालाई, मध्यम अपांगता पहेलो परिचय पत्र ४ जनालाई र सामान्य अपांगता परिचय पत्र २ जनालाई प्रदान गरिएको छ ।

परिचय पत्र वितरण गर्दै शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा र उनिहरुको हक अधिकारको लागि नगरपालिका सदैव तल्लिन रहेको बताउँदै उपचार तथा अन्य सवालमा अपांगता भएका व्यक्तिहरुलाई समस्या परेमा आफ्नो निजि श्रोतबाट पनि गरिरहेको र अव आवश्यक परेका बेला पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समितिका संयोजक नगर उप प्रमुख खुम बहादुर वि.क. राजुले अपांगता भएका व्यक्तिहरुको अवस्था र मर्म अनुसारको परिचय पत्र वितरणमा कुनै कसुर नहुने बताउनु भयो । समितिले भोली भाद्र २६ गने शुक्लागण्डकी नगरपालिका वडा नं. ११ र पर्सि भाद्र २७ गते शुक्लागण्डकी नगरपालिका वडा नं. १२ मा रहनुभएका पूर्ण र अति अपांगता भएका व्यक्तिहरुका लागि परिचय पत्र घरैमा गएर वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।