कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उहाँले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको हो ।“एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन”, मन्त्री गरुङले भन्नुभयो, “देश बनाउनका लागि गालीगलौज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ । ”“गफ गरेर मात्र मुलुक परिवर्तन हुँदैन”, उहाँले जोड दिनुभयो, “मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्छ । आर्थिक क्षेत्रमा केही अप्ठ्यारा रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिनुपर्छ। ” राष्ट्र बैंक बैंकहरूकोे अभिभावक भएकाले उसले आवश्यकता र परिस्थितिबमोजिम नीतिमा पनि सुधार गर्नुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयोे ।
गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकै कारण देशमा वित्तीय अराजकता बढ्दै गएको आरोप लगाउनुभयो भयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्नु आवश्यक छ भन्नुभयो ।वालिङमा आजदेखि सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२औँ शाखा हो । स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा छन् । बैंकले भिरकोट नगरपालिकाको बयरघारीमा पनि थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहका लागि काउन्टर खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।