नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ । अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांगे्रसले जनाएको छ ।विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा पर्नुभएको थियो ।रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं-७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले मानव अधिकारवादी सङ्घ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आउनुभएको थियो ।उहाँको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।