सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सवै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनुभयो । समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।” समितिका सदस्यहरूले मुलुकका केही भागमा देखिएका घटनाबाट नेपाली समाजमा सदियौँदेखि रही आएको सद्भावना बिथोल्न खोज्ने प्रयास भएकाले त्यसप्रति सजग रहन आग्रह गर्नुभयो । उहाँहरुले मुलुक भ्रष्टाचारको दलदलमा भासिने सासद र सांसद रमिते बन्ने परिस्थिति अन्त्य गर्न पहलकदमीको खाँचो औँल्याउनुभयो ।
जनताले अनुभूति गर्ने गरी देश र जनताका पक्षमा संसद् र संसदीय समितिले काम गर्न जरुरी रहेको बताउँदै सदस्यहरूले सङ्घीय निजामती, प्रहरी र शिक्षासम्बन्धी विधेयकलाई छिटो निकास दिनु आवश्यक रहेको बताउनुभयो । सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनुपर्ने कयौँ निकायबाट हुने निर्णयले पूर्वाधार निर्माणलगायत विकास कार्यक्रममा बाधा उत्पन्न गराएको पक्षलाई ससदले कानुन निर्माणका क्रममा विशेष ध्यान पुर्याउन सदस्यले सुझाव दिनुभयो । बैठकमा सदस्यले समितिको प्रभावकारिता र सभापति खतिवडालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।