टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई/तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ ।