ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको कार्यालयको आज अनुगमन गर्दै उहाँले चालु आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभयो ।मन्त्री बस्नेतले विगतको मौसम पूर्वानुमानको अनुभवलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्नुभयो । मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउन सरकारले ध्यान दिने उहाँको भनाइ थियो । उहाँले पूर्वसूचना प्रणालीलाई जनमानसमा अझ व्यापक गर्नका लागि नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।मन्त्री बस्नेतले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गर्नुभयो ।
