तनहुँ १२ बैशाख | व्यास नगरपालिकाको कार्यबाहक मेयरमा लेख बहादुर रानालाई चयन गरिएको छ । व्यासका प्रमुख र उपप्रमुखले राजिनामा दिएपछि जेष्ठताको आधारमा रानालाई मेयर पदमा चयन गरिएको हो । राना वडा नं. १३ का वडाका अध्यक्ष हुन् । व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले राजिनामा दिएपछि उनलाई कार्यबाहक मेयरको जिम्मा दिइएको हो । नगरप्रमुख न्यौपानेले उपप्रमुख जोशी र उपप्रमुख जोशीले प्रमुख न्यौपाने समक्ष राजिनामा दिएका हुन् । राजिनामा दिएपछि उनीहरुको पद स्वत ः रिक्त भएपछि वरिष्ठ अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिए । व्यास नगरपालिकाको वडा नं. २, ३ र १० का सम्पूर्ण जनप्रतिनिधिहरुले राजिनामा दिएको उनले बताए ।
व्यास मातहत रहेका चौध वटा वडामध्ये अधिकाँश वडाहरुमा वडा अध्यक्षले राजिनामा दिएपनि वडा सदस्यहरुले कार्यबाहक अध्यक्षको जिम्मेबारी लिदै आएका छन् । नगरप्रमुख न्यौपानेले चढ्ने ६५ लाख रुपैयाँको स्कारपियो कार्यबाहक अध्यक्ष लेखबहादुर रानाले चढ्ने भएका छन । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी भइ आउने जनप्रतिनिधिहरुलाई पदस्थापन गरेपछि मात्रै पुराना जनप्रतिनिधिहरु विस्थापित हुने बताइएको छ । जेष्ठताको आधारमा लेखबहादुर राना व्यास नगरपालिकाको कार्यबाहक मेयर भएको व्यासका उपनिर्देशक कुमारकञ्चन जिसीले बताए । नगरपालिका क्षेत्रभित्रका अधिकांश वडाहरु जनप्रतिनिधि विहिन समेत भैसकेका छन् । जनप्रतिनिधीहरुले धमाधम राजीनामा दिएपछि वडा सचिवहरुमा जिम्मेबारी थपिएको छ ।