नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकले चुनावी घोषणापत्र पारित गर्नेसहित विभिन्न ८ वटा निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले चुनावी घोषणापत्र पारित गरेको जानकारी दिए ।  घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोलाई बैठकले पारित गरेको उनको भनाइ छ । ‘पार्टीले स्थानीय तह निर्वाचनको क्रममा घोषणापत्र मस्यौदा तयारी समिति जुन बनाएको थियो । सो समितिले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ र वैशाख ३० गतेको चुनावलाई केन्द्रीय कमिटीले तयार गरेको घोषणापत्र आज तयार भएको छ’, बैठकपछि गुरुङले भने । घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको तयारी छ।  यस्तै जेष्ठ कम्युनिस्टलाई सम्मान गर्ने, विभाग थप गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ । नेपाल आलय निगमले पेट्रोलियम पदार्थमा केही मूल्य घटेर आएपनि घाटा कायमै रहेको बताएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमा घाटा अझै   ३ अर्ब ७४ करोड हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय निगमले पठाएको नयाँ मूल्य अनुसार प्रति लिटर डिजेलमा रु२.०२ ले बढेको छ भने हवाई इन्धनमा रू ०.३८ ले बढ्दा पेट्रोलको मूल्य भने  प्रति लिटर रु ४.७९ ले घटेर आएको छ । विदेशी मुद्राको सञ्चिति कम हुँदै जाँदा दबाबमा परेको अर्थतन्त्रमा सुधार हुने संकेत देखिएको छ । फागुन महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो ।

रेमिट्यान्सको वृद्धिदर चैत महिनामा पनि सुधार भएको अनुमान गरिएको छ । यसले अर्थतन्त्रमा परेको दबाबलाई कम गर्न सहयोग गर्छ । सरकारले चैत ३० गते विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ९१५ करोड अमेरिकी डलर (करीब १८ अर्ब रुपैयाँ)को सहुलियपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यो ऋण बजेटरी सहायता भएकाले तत्कालै आउँछ । जसले अर्थतन्त्रमा योगदान गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए ।  सहयोग रकम बजेट भित्रैबाट खर्च हुने भएकाले ऋण स्वीकार गर्नुका साथै आइहाल्ने पैसाका रूपमा गणना गर्न सकिने उनको भनाइ छ । योबाहेक अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायको अनुदान सहयोगमा आउने ६५ करोड ९० लाख अमेरिकी डलर ९करीब ७९ अर्ब ७१ करोड रुपैयाँ० भने सम्झौता भइसकेपछि आउने रकम हो । यो रकम बर्सेनि करीब १६ अर्ब रुपैयाँका दरले किस्ताबन्दीको रूपमा आउँछ । यो रकम सम्झौता हुने शर्तका आधारमा मात्रै आउँछ । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमवार सूचना जारी गर्दै चालू आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलबारे निर्णय गर्न बसेको ५ दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।  सोमवार विहान र साँझ गरी २ पटक बसेको बैठक सहमतिमा पुग्न नसकेको हो । गठबन्धनको बैठक मंगलवार साढे ११ बजे फेरि बस्ने निर्णय भएको कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमवार सर्वोच्च अदालत काजमा झिकाएका हुन् । उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई ३ वर्ष कैद हुने फैसला सुनाएका थिए । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका हुन् । उक्त कानून कार्यान्वयनमा छैन । यसअघि जिल्ला अदालत काठमाडौंका २ न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि ४१ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अंकले ओरालो लागेर २ हजार ३४३.८७ अंकमा ओर्लिएको छ । कुनै बेला देशमा ९० हजार नाघेको कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले ३५० मा झरेको छ । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ६९१ नमूना परीक्षणमध्ये १० जनामा संक्रमण देखिएको हो ।  पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । मन्त्रालयका अनुसार थप ३४ जना संक्रमणमुक्त भएका छन्  ।

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण दर फेरि बढ्न थालेको भारतीय सञ्चामाध्यमले जनाएका छन् ।  परीक्षण गरिएकामध्ये झण्डै ५ प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । ५ प्रतिशतमा संक्रमण पुष्टि हुनुलाई विश्व स्वास्थ्य संगठनले चिन्ताजनक अवस्था बताउँछ । संक्रमण बढ्न थालेपछि चौथो लहरको आशंका गर्न थालिएको छ । तर भारत सरकारले अस्पतालमा भर्ना हुने दर थोरै भएकाले चिन्ता नलिन आह्वान गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई देखाएर सत्ता गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्दै चुनाव सार्ने गठबन्धनको मतियार नबन्न उनले आग्रह गरे । नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सूर्य चिह्नबाट चुनाव लड्न विप्लवसँग प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा चुनाव चिह्नबारे छलफल भइरहेको बताएका छन् । सोमवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा साझा चुनाव चिह्नबारे छलफल गरेको तर अब निर्वाचनको कार्यक्रम अघि बढिसकेको हुँदा सम्भव नभएको उनले बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसका देशैभरका कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन् । चुनावपछि सरकार गठन गर्न तालमेल गर्नु उपयुक्त हुने भए पनि चुनाव जित्न तालमेल गर्नु उचित नभएको उनको भनाइ छ ।  सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस मतदाताको मनोविज्ञान चुनावी तालमेलको विपक्षमा रहेको बताएका हुन् । स्याङ्जाको वालिङ १२, डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । लोकान्तर