दुई दर्जन प्रश्न, के के विवरण भरिन्छ ?
कृषि गणनाको प्रयोजनका लागि दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने कार्कीले बताए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरि प्रश्नावली बनाइएको छ । नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने विभागको भनाइ छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपंक्षी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने छ । यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिए पनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिदैंन ।
साढे ३ लाख परिवारबाट विवरण लिइने
कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने छ । नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् । ‘जनगणनामा हरेक घरमा पुग्ने गरि गणक पठाइन्छ,’ कार्कीले भने, ‘कृषि गणनामा ठूलो स्तरको नमूना लिएर त्यहाँबाट तथ्यांक संकलन गरिन्छ ।’ त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिन्छ । यसक्रममा मुलुकका हरेक क्षेत्र समेट्ने गरि नमूना छनोट गरिएको विभागको भनाइ छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ । विगतमा सामान्यतया एक वडालाई एक क्षेत्र मानेर नमूना छनोट गरि विवरण संकलन गरिएको थियो । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् । विभागका अनुसार जनगणनामा करीव ४१ लाख कृषक परिवारको सूचिकृत भएको छ । कृषि गणनामा भने जनगणनाबाट प्राप्त कृषक परिवारबाट छानिएका ३ लाख ५० हजार परिवारमा पुगेर गणकले फारम भराउने भएका छन् ।
महिलाको सहभागितासम्बन्धी छुट्टै विवरण आउने
विभागका अनुसार नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाई ध्यानमा राखी महिलाको अगुवाइमा भइरहेका खेतिपातीको विवरण कृषि गणनामा संकलन गरिने छ । महिलाको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, महिलाले कृषि कार्यमा दिइएको समय लगायतको विवरण संकलन गरिने भएको छ । कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषणसहितको एउटा छुट्टै प्रतिवेदन समेत प्रकाशन गरिने विभागले जनाएको छ । प्रतिवेदनमा भोकमरी, खाद्य असुरक्षा, ग्रामिण गरिबीको अन्त्यसँग सम्बन्धित तथ्यांकको विश्लेषण गरिने विभागले जनाएको छ । अनलाइनखबर