सत्यवती छात्रा फुटबलको फाइनलमा व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती मावि फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा आज सम्पन्न खेलमा वाराही आवासीय माविलाई पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो । सत्यवती ४–० गोल अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । सत्यवतीका तर्फबाट झरना राईले तीन र उमिता राईले एक गोल गर्नुभएको थियो । छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको छ । बिहीबारदेखि सुरु प्रतियोगिताअन्तर्गत छात्रतर्फ सत्यवती मावि, बाराही आवासीय मावि र महेन्द्रज्योति मावि विजयी भएको छ । सत्यवती मावि र पराशर कलेजबीच भएको खेलमा सत्यवती ६–१ ले विजयी भएको व्यवस्थापन विद्यालय निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
बाराही आवासीय मावि र शिव पञ्चायन माविबीच भएको दोस्रो खेलमा बाराही ३–१ र महेन्द्रज्योति र क्यामिन माविबीच भएको तेस्रो खेलमा महेन्द्रज्योति १–० ले विजयी भएको छ । विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलप्रतिको रुचि बढाउने उद्देश्यसहित नगरपालिकाले विगत वर्षदेखि मेयर तथा उपमेयर फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखाप्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ । (रासस)