छविसपाथिभेरा गाउँपालिकाले गत सार्वजनिक सुनुवाइका लागि सू्चना जारी ग¥यो । दुई दिनपछि सार्वजनिक सुनुवाइ हुने भएपछि तोकिएको मिति र समयमा स्थानीय जम्मा पनि भए । विहान १० बजे नै सुरू हुने भनिएको सुनुवाइ कार्यक्रम दिउँसोसम्म पनि सुरु हुने सकेन । अन्ततः गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत, गगन अयडीसहितको बैठकले सार्वजनिक सुनुवाइ स्थगित गर्ने निर्णय ग¥यो । गाउँपालिकाका अध्यक्ष चलाउने र उपाध्यक्ष लक्षिमन बोहराबीच कुरा नमिल्दा सार्वजनिक सुनुवाइ स्थगित भएको हो । बोहोराले त गाउँपालिकाको बैठक नै बहिस्कार गर्न थालिसक्नुभएको छ ।

आफूले सूचना नै नपाएकाले सार्वजनिक सुनुवाइमा बस्न नचाहेको बोहोराको तर्क छ । “सार्वजनिक सुनुवाइ अनिवार्य हुनुपर्छ भन्ने नै हो”, बोहराले भन्नुभयो, “तर सार्वजनिक सुनुवाइका लागि कार्यपालिकाको बैठक नबस्दै मिति तय गरेकाले बहिस्कार गर्नु परेको हो ।” प्रक्रिया नै नमिलेको हुँदा बहिस्कार गर्नुपरेको उहाँको भनाइ छ । बोहराले वर्षभरिको आयव्ययको विवरणबारे जानकारी नै नभएको हुँदा सार्वजनिक सुनुवाइमा जवाफ दिन नसकिने भन्दै सार्वजनिक सुनुवाइ स्वीकार नगरेको तर्क गर्नुभयो । अध्यक्षको उक्साहटमा लेखापाल मुकेश थापाले आफूलाई आयव्यय विवरणबारे सूचना माग्दासमेत नदिएको उहाँको आरोप छ । “आफूलाई प्रष्ट भएपछि सार्वजनिक सुनुवाइमा जवाफ दिन सकिन्थ्यो, तर आफैँ अन्योल हुँदा कसरी जवाफ दिनु ? धेरै पटक सूचना माग्दा लेखापालले दिन मान्नु भएन”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष करनजङ्गबहादुर सिंहले पनि सार्वजनिक सुनुवाइबारे आफूलाई पूर्वजानकारी नै नभएको र अचानक खबर पाउँदा कार्यक्रममा बस्न नसकेको स्पष्ट पार्नुभयो ।

“घरभित्रै नमिलेको कुरा जवाफ दिने ठाउँमा किन झोक्काझोक्की हुनु भनेर सार्वजनिक सुनुवाइ बहिस्कार गर्नुपरेको हो”, उहाँले भन्नुभयो । सार्वजनिक सुनुवाइ एकल ढङ्गले नभई आन्तरिक समीक्षापश्चात् हुनुपर्ने उहाँको भनाइ छ । “सबैको तयारीपछि मात्रै यस्तो कार्यक्रम गर्नुपर्छ । यहाँ त कर्मचारीतन्त्र बढ्यो, केही व्यक्तिको उक्साहटमा कर्मचारीले जनप्रतिनिधि चलाएजस्तै भयो । आन्तरिकरूपमा नै हाम्रो समीक्षा भएको थिएन । वर्षभरका गतिविधिबारे प्रष्ट नहुँदै सार्वजनिक सुनुवाइगर्न खोजेपछि त्यसमा कसरी बस्नु ?” उपाध्यक्षसहित वडा नं १, २, ४ र ५ का वडाध्यक्षसहितले बहिस्कार गरेपछि सुनुवाइ रोकिएको हो । नेपाली कांग्रेसका पालिका सभापति पाण्डव थापाले पनि सार्वजनिक सुनुवाइबारे आफूलाई आधिकारिक पत्र आउनुपर्नेमा कुनै जानकारी नभएको बताउनुभयो । “गाउँगाउँमा सिंहदरबार त भनिएको छ, तर दरबारका गतिविधि भने जनतालाई टालटुल पार्न खोज्ने मात्रै छन् । यहाँ त ७० प्रतिशत जति छविसबासीलाई जानकारी नै छैन ।

यता सार्वजनिक सुनुवाइको तयारी रहेछ’, उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापालको तर्क भने फरक छ । “सार्वजनिक सुनुवाइ बहिस्कार गर्नेहरुले पालिकाका बैठक बहिस्कार गर्ने तर आफूलाई कुनै जानकारी नदिएको आरोप लगाइरहनुभएको छ, त्यो निराधार हो”, गाउँपालिका अध्यक्ष चलाउनेले भन्नुभयो, “पालिकामा बैठक बसौँभन्दा समेत उहाँहरू बस्नुहुन्न । घरको कुरा घरमै बसेर सल्लाह गरेर मात्रै समाधान हुन्छ । अरूको उक्साहटमा हरेक बैठक, कार्यक्रम बहिस्कार गर्दा कुनै परिणाम निस्कँदैन ।” पालिकाका गतिविधि सार्वजनिक गर्नुपर्ने भन्दै बैठक बसौँ भन्दासमेत उपाध्यक्षसहित केही वडाध्यक्ष उपस्थित हुन नचाहेको उहाँले बताउनुभयो । “हामी हरेक कुरामा बसेर सल्लाह गरौँ भन्छौँ, उहाँहरू आफ्नै ढिपी गर्नुहुन्छ । उपस्थित नै भइदिनुहुन्न”, अध्यक्षले चलाउनेले भन्नुभयो । लेखापाल थापा पनि आफूले सूचना नदिएको भन्ने कुरा आरोप मात्रै भएको बताउनुहुन्छ । “हामीलाई सूचना लुकाएर के पाइन्छ ? वर्षभरि भएका सबै गतिविधि सार्वजनिक सुनुवाइ नै गरेर सार्वजनिक गर्ने तयारीमा छौँ ।

पालिकाभित्रैका मान्छेलाई सूचना नदिने भन्ने हुन्छ ?” उहाँले भन्नुभयो । यस्ता कार्यक्रमका लागि पालिकामा सम्पूर्ण टीम नै एक भएर अघि बढ्नुपर्ने छविसपाथिभेराका हरिष विष्टले सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पालिका चलाउनका लागि आरोपप्रत्यारोप गरेर हुँदैन । आन्तरिकरूपमा नै छलफल गरेर अघि बढ्नुपर्छ ।”सार्वजनिक सुनुवाइ गर्नका लागि अब भोलि वा पर्सी नै आन्तरिक बैठक बसेर सार्वजनिक सुनुवाइको मिति तोक्ने अध्यक्ष चलाउनेले बताउनुभयो । के छ प्रावधान ? आर्थिक पारदर्शिताका लागि हरेक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि यहापालिकाले वर्षमा मुस्किलले एकपटक सार्वजनिक सुनुवाइ गर्ने गरेका छन् ।

सार्वजनिक सुनुवाइ गर्न उदासिन देखिँदै आएका पालिकाले विभिन्न बहाना देखाउँदै वर्षमा एकपटक मात्रै सुनुवाइ गर्छन् । स्थानीय सरकार सञ्चालन कार्यविधिमा हरेक स्थानीय तहले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिका सेवा सुविधालगायत चौमासिकमा भएका चालु तथा पुँजीगत खर्च सार्वजनिक नगरे कार्यसम्पादन मूल्याङ्कनसमेत खस्किने भन्दै अनिवार्यरूपमा चौमासिक सुनुवाइ गर्नुपर्ने उल्लेख गरिएको छ । कतिपय पालिकाले कार्यसम्पादन मूल्याङ्कनमा अङ्क बढाउन मात्रै वर्षमा एकपटक सार्वजनिक सुनुवाइ गर्दै आएका छन् ।

स्थानीय निकाय सार्वजनिक सुनुवाइ कार्यविधि, २०६७ को परिच्छेद ३ मा सार्वजनिक सुनुवाइबारे उल्लेख गरिएको छ । परिच्छेद ३ को १ को (क) मा स्थानीय निकायको प्रमुखले सार्वजनिक सुनुवाइका विषयमा जानकारी राख्ने कर्मचारीको एक समूह गठन गर्नुपर्नेछ । परिच्छेद ३ को १ को (ग) स्थानीय निकायले सार्वजनिक सुनुवाइको कार्यक्रम हुने दिनभन्दा १५ दिनअगावै नागरिक प्रतिवेदन र बर्हिगमन अभिमतको माध्यम प्रयोग गरी सूचना सङ्कलन गर्नुपर्नेछ । कार्यालयको सेवासुविधा वा वस्तु प्राप्त गरेका नागरिकमध्ये बढीमा ५० जना नागरिकबाट बर्हिगमन अभिमत भर्न लगाई सूचना सङ्कलन गरिनुपर्छ । त्यसरी सङ्कलित अभिमतको नतिजा प्रतिवेदनको रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रममा पेस गर्नुपर्ने प्रावधान छ । बर्हिगमन अभिमतमा भाग लिएका वा नलिएका नागरिकलाई सार्वजनिक सुनुवाइमा भाग लिन निमन्त्रणा गर्नुपर्ने प्रावधान छ ।