लेखक :- सरोज सुनार
तनहुँ दमौली
हिजोआज सामाजिक संजालमा दलित सम्बन्धि केही टीका टिप्पणी हरु निक्कै देख्न र सुन्नमा आएका छन।एकाध व्यक्ति हरुबाट जात व्यवस्थामा रङ्ग दलेर विभेदकारी उर्जा थप्ने काम पनि भएकै छ।जस्तै दलित शव्द संविधान बाटै हटाउनु पर्छ,दलित आरक्षण हटाउनु पर्छ,दलित हुँ भन्ने तर छुवाछूत अस्वीकार गर्ने आदि,आदि। वास्तवमा यो कलुषित मानसिकता र विभेदकारी सोचबाट उब्जिएको आवेग बाहेक अरु केहिपनी होइन।
यी सबै कुराहरू हेरिरहदा केही कुरा व्यक्त नगरी मनले मान्दै मानेन। वास्तवमा दलित शव्द संस्कृत भाषाबाट आएको हो यस्को अर्थ पिल्सिएको,दलिएको भन्ने जस्ता बुझिन्छ यसको अर्थ कुनै उत्पीडक समुदायले हेपेर,अपमान गरेर वा षड्यन्त्र गरेर दिएको होइन।यो दलित आन्दोलनले आफ्नो मुक्तिको संघर्ष चलाउने क्रममा आफैंले स्वत: जन्माएको विशिष्ट शव्द अर्थात गौरवमय परिचय हो अनि आफुलाई परम्परागत समाजले दिएको कलंकपूर्ण अछुत परिचयको अस्वीकृत बिम्ब पनि हो।त्यसैले दलित शव्दप्रती आफुसंग भएका नकारात्मक भ्रम र संकुचनलाई दुर गरौँ।
विभिन्न जातीका आन्दोलनका क्रममा निर्माण भएका संगठन हरु हुन्छन जस्तै नेवा राष्ट्रिय मुक्तिमोर्चा,क्षेत्री समाज नेपाल ,मगर एकता समाज,गुरुङ एकता समाज भनेजस्तै हो दलित समाज भनेको पनि। यो राज्यको राजनितीक,सामाजिक,आर्थिक र साँस्कृतिक निकायमा समान सहभागीता संगै पहुँच नभई आफ्नो हक इज्जत,प्रतिष्ठा समान रुपले पाउन असमर्थ हुनुको परिणाम र वर्ण विभाजनले निम्त्याएको वर्गसंघर्षबाट निर्मित शव्द दलित हो यसमा कुनै लामो ब्याख्या गर्नुपर्ने अवस्था नै देखिदैन।
राजनितिक,आर्थिक,सामाजिक रुपले पिछडिएको समुदायलाई राज्यको नीति निर्माण लगायत अन्य राज्य संरचनामा सबै तहका अर्थपूर्ण सहभागिताको अवसर अवलम्बन गर्ने विशेष संरक्षणको कार्य आरक्षण हो।यो आर्थिक,जातीय,लैङ्गकि तथा भौगोलिक लगायतका आधारमा टेकेर गरिन्छ।नेपालमा निजामती क्षेत्रमा वि. स.२०६३ सालमा सुरु भएको आरक्षण प्रणाली अनुसार दलितका ९%,आदिवासी/ जनजातिका २७%,मधेसी २९%,अपाङ्गता ५% र पिछडिएको छेत्र भनेर ४% आरक्षण कोटा निर्धारण गरिएको हो।
के २०६३ साल अगावै आरक्षण कोटा नहुँदा हाम्रो समाजमा जातीय विभेद थिएन त? के छुवाछुत बिषयक कुनै वैज्ञानिक र धार्मिक तथ्य प्रमाण कतै छ?आरक्षण कोटासंग जातीय छुवाछूत कुनैपनि तवरबाट अन्तरसम्बन्धित छैन। हैनभने दलितले भन्दा बढी आरक्षण कोटा पाउने आदिवासी/जनजाति र मधेसी हरुलाई किन अछुतको पगरी गुठाईएन?मानिसहरु विच गम्भीर अन्तरद्वन्द र धनि गरिब संगै जोडिएको जात व्यवस्थाको विभेद जस्ता गहिरो असमानता खाडल बिच समावेशीता यथोचित ढंगबाट कार्यनयन गर्न नसके मुलुक समृद्धि कसरी सम्भव छ र?
त्ययसकारण दलित पिछडिएको वर्ग हो अछुत जात हैन अब कोटा लिने छुवाछूत नमान्ने भन्नेहरुले खास मा बुझ्नुपर्ने गुह्य कुरो यहाँनेर छ। नेपालमा छुवाछूतमुक्त राष्ट्र घोषणा भएको 20 वर्ष भैसक्दा पनि धेरै मानिसहरू भन्ने गर्नुहुन्छ दलित भित्रै वा गैरदलित हरुसंग विवाह गरेर देखाउ न पहिला।हो दलित भित्रैपनि केही जटिलता र कमीकमजोरी पक्कैपनि नभएका होइनन आफ्नो थर लुकाएर कथित उपल्लो जात बन्ने चाह लिने र बाध्यात्मक परिस्थितिको जाल बुन्न माहिर पनि देखिन्छन र यहाँ आन्तरिक रुपमा पनि विवाह नै भएको छैन भन्ने चाही हुँदै होइन तर आन्तरिक विवाह भन्दा गैरदलित संग जोडिएका सम्बन्ध हरुमा धेरै कठिनाई झेल्नुपरेको कुरा हाम्रो समाजमा छर्लङ्ग नै छ।
अधिकांश दलित समुदायका साथिहरु गैरदलित युवती संग विवाह गरेका छन बिडम्बना उनिहरु कहिल्यै आफ्नो माइतीघर जान पाएका छैनन् यदि यदाकदा गएको भएपनि मझेरीको डिलमा बसिरहेको बेला टाढाबाट चिहाइरहेका हुन्छन छिमेकीले घरभित्र पस्छ कि भन्ने मनसायले, वास्तवमा एक खसलको मानसिक अपमान संगै लिएर उस्को मनोभावना मा ठेस लागेको घायल मुटु संगै जीवनभर माइती आफन्तको माया र साहरा बिना जीवन जिउन बाध्य छन असंख्या चेलीहरु।ती नारीहरु आफ्नै जन्मदिने बुवाआमाको मर्दाको मलामी हुनत पाएनन मृत्यु पश्चात अन्तिम पटक एक मुठी चामल समेत मिसाउने अवस्था छैन! आखिर यी सब पीडाको चोट अचानो बनेर कहिलेसम्म सहनुपर्ने?के राज्यले यसको क्षतिपूर्ति दिन सक्ला?तसर्थ विवाह जातीय विभेद जस्तो जघन्य समस्याको सहज समाधान कदापि होइन।
अन्तत:वर्ण विभेदको गाँठो देशको राजनीति संग जोडिएको हुन्छ विभिन्न राजनितीक दलहरुले आम जातीय विभेद को समस्यालाई राष्ट्रिय समस्याको रुपमा गम्भीरतापूर्वक सोचेर भोट बैंकको रुपमा नक्कली आश्वासन फिजार्न छोडेर दलित आरक्षण कोटा र जनचेतनामूलक शिक्षालाई थप सशक्त पारेर राज्यको नीति निर्माण र निर्णयको तहमा समावेशीकरण नीति दह्रो र खह्रो रुपमा कार्यनयन गर्न सके मात्र आम दलित पिछडिएका समुदायको समस्याले उपयुक्त र वैज्ञानिक मार्ग पहिचान गर्न सक्ने सम्भावना रहन्छ। परिवर्तन एउटा देखिने पाटो हो बिकास देखाउनको निमित्त गरिदैन त्यो महसुस गर्न सक्ने हुनुपर्दछ र परिवर्तन बिस्तारै हुन्छ वा आफै हुन्छ भन्ने व्यक्तिहरु यथास्थितिवादी चेतनाहिन हुन। सुभ प्रभात सबैलाइ