वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि तनहुँमा झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त बनाउन एक हजार ९८४ सुरक्षाकर्मी खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । ३२४ शसस्त्र प्रहरी नेपाल प्रहरी ६०५, म्यादी प्रहरी एक हजार ५५ जना गरी सो सङ्ख्यामा खटाईएको छ । यसका अतिरिक्त नेपाली सेनाको मोबाईल गस्ती र राष्ट्रिय अनुसन्धान केन्द्रको टोली पनि परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार चुनावका लागि जिल्लाभर जनपद प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना र म्यादी प्रहरी गरी सबै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रजिअ अर्यालले जानकारी दिनुभयो । त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो बताउनुभयो । निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको उहाँले जानकारी दिनुभयो । निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकिएको छ ।
विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १८ संवेदनशील, पाँच अतिसंवेदनशील र ९२ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन भईसकेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । थप सुरक्षा आवश्यक परेमा १० मिनेट भित्र नै नेपाली सेना समेत पुग्न सक्ने गरी सुरक्षा व्यवस्था मजबुद बनाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिले जिल्ला सबै मतदान केन्द्रको निरीक्षण गरिसकेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । तनहुँमा १० वटा स्थानीय तह र ८५ वटा वडा रहेका छन् । ति सबैमा गरी २९७ मतदान केन्द्र रहेका छन् ।