नवराज न्यौपाने

‘मौन’ खपत धेरै भएछ तर उत्पादन भएन

भारतसित नझुकी कुनै उपाय रहेन

विप्रेषण आयो आयत गर्दा सबै त्यो सकियो

निरोगी बन्न किसान बन्ने रहर रोकियो ।१।

श्रमको मूल्य श्रमले तिर्ने जमाना गएछ

नगए विदेश जिन्दगी धान्न गाह्रो पो रहेछ

पद्धति राम्रो भएन हेर नेपाल बिग्रियो

नेताको काम देखेर साँच्चै उपाय निख्रियो ।२।

खेपेर सास्ती भोगेर दु:ख अघिका पुस्ताले

जीवन धाने कर्तव्य जाने सौंन्दर्य उचाले

समय अर्कै कसरी आयो पैसाले बिगार्‍यो

पैसाले गर्दा लौ जनशक्ति सिनित्तै निखार्‍यो ।३।

खै देशभक्ति रहेन आस्था धर्ममा कसैको

छल र कपट गरेर बित्छ जिन्दगी सबैको

बनेर भ्रष्ट दिएर कष्ट नेताजी दगुर्छन्

पाएमा खान लाग्दैन लाज जे पनि हसुर्छन् ।४।

नेपाल देश श्रोतमा धनी सम्पदा अपार

थितिका कुरा नीतिका कुरा गरेर विचार

सबैले सोचौं समाज राम्रो कसरी बन्दछ

लिएर ज्ञान गरौं है ध्यान कवि यो भन्दछ ।(५)