असार २९ गते आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । नेपाली साहित्यको प्रवर्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताउनुभयो । खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । ।www.adikabibhanubhakta1871@gmail.com मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने भएको छ ।