पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो। 

पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए।  त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए। 

‘ठूलो पहिरो खसेको होइन। एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट रोकिन्‍छ। फेरि झर्छ,’ उनले भने, ‘हिजो साँझ देखि यही प्रक्रिया चलिरहेको छ।’ यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए। तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो।  पहिरो पन्छयाएर आधा-एक घण्टामा एक तर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।