तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा रहेका बैंकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौलीका विभिन्न बैकहरु, जिल्ला प्रशासन कार्यलय र व्यास नगरपलिकालाई ध्यानाकर्षणपत्र बुझाएका हो। नीजि क्षेत्रलाई टिकाउन सके मात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा केहि समय मात्र व्याज, किस्ता बुझाउन नसक्दा सोझै धितो लिलाम गर्ने जस्ता कार्यले निजी क्षेत्र पूर्ण रुपमा हतोत्साही हुदै गएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रूपमा बैङ्क तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई टिकाउनको निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आर्थिक संकट र बाध्यताका बीचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसाबले नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रूपमा आफूलाई उभ्याउँदै उद्योगी व्यापारीको सर्वस्व सखाप हुने गरी धितो लिलामलाई मात्र विकल्पका रूपमा नहेरी आर्थिक संकटबाट उकासिनका लागि भाका नाघेको अवस्थामा म्याद थप, कर्जा, नवीकरण, आंशिक धितो फुकुवा आदि जस्ता सहयोगी नीति अख्तियार गरी नीजि क्षेत्र र बैंक दुवै पक्षको लागि सहज हुने स्थिति सृजना गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई संघको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।
