तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ ।व्यावसायिक रूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो ।

७ वटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको डा. शाहले बताए ।

डा. शाहले भने, ‘विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौं । निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।’

उनका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । ‘म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौं, यो माछा १ वर्षमा २ किलोसम्म हुन्छ,’ उनले भने ।

गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो । 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । ‘गाउँपालिकाले व्यावसायिक रूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हांै,’ उनले भने, ‘यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौं ।’

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग संकलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए ।