तनहुँ । तनहुँको बन्दीपुरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले बन्दीपुरमा एक औपचारिक कार्यक्रम गरी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि सम्पन्न गरेको हो । कार्यक्रममा प्रहरीले विभिन्न निकाय, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, विभिन्न क्लब, समिति तथा विभिन्न निकायका व्यक्तित्वहरूसँगको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गरिएको जिल्ला प्रहरी प्रमुख अवदेश बिष्टले बताउनुभयो । लागू औषध दुर्व्यसनी नियन्त्रण, साइबर सुरक्षा, सडक सवारी सुरक्षा सचेतना, घरेलु हिंसा न्यूनीकरण, वन डढेलो, आगलागी नियन्त्रण, लगायत विभिन्न विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम गरिएको बिष्टको भनाइ थियो । कार्यक्रममा बन्दिपुर गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले विभिन्न अपराधहरू नियन्त्रण गर्नका लागि प्रहरी सजग हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरी बन्दिपुरमै चौकीबाट सुरू भएको यो कार्यालय सुरक्षा इकाई हवल्दार, असई हुँदै प्रहरी निरीक्षकसम्म पुगेकामा खुसी व्यक्त गर्नुभएको थियो । इलाका प्रहरी कार्यलय बन्दीपुरका प्रहरी निरिक्षक कमल पोख्रेलका अनुसार गत ६ महिनाको अवधिम भिन्न कार्यक्रमहरु भएका छन् । जसअनुसार स्कुल लक्षित ३३ वटा कार्यक्रम, टोल सुधार समिति लक्षित ४२ वटा कार्यक्रम, सडक सवारी सुरक्षा लक्षित ४७ वटा कार्यक्रम भएका छन् । २०५ क्यु फिट अवैध काठ बरामद भएको छ । ४८७ जना ट्राफिक कारबाहीमा परेका छन् भने ४ लाख २१ ह्जार ५ सय राजश्व संकलन भएको छ । साथै सुरक्षा निकायको एकल प्रयास मात्रैले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्भव नरहेकोले विभिन्न संघसंस्थाहरूसंग हातेमालो गर्ने, सचेतनामूलक कार्यक्रममा उत्सुकताका साथ सहभागिता जनाउने, सबै पक्षहरूले आआफ्नो स्थानबाट समाजका लागि योगदान गर्ने प्रतिबद्धता गर्नु पर्ने प्रहरीले जनाएको छ ।
